
फखारको विस्फोटक शतक, ४०१ रन बनाएको न्युजिल्यान्डको हार
काठमाडौं, १८ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्वकपमा पाकिस्तानले शानदार जीत हासिल गरेको छ । शनिबारको पहिलो खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई डिएल पद्धतिका आधारमा २१ रनले हराएको हो ।


न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान २१.३ ओभरमा १६०-१ को अवस्थामा रहँदा वर्षाले धेरैबेर खेल रोकिएको थियो । त्यसपछि पाकिस्तानले ४१ ओभरमा ३४२ रनको विजयी लक्ष्य पाएको थियो ।

पछिल्लोपटक पाकिस्तान २५.३ ओभरमा २००-१ को अवस्थामा रहँदा पुनः रोकिएको खेल सुरु हुन सकेन र पाकिस्तान डिएल पद्धति अनुसार अगाडि रहेकाले खेल जित्न सफल भयो ।
पाकिस्तानका फखार जमानले विस्फोटक ब्याटिङ गर्दै ८१ बलमा ८ चौका र ११ छक्कासहित १२६ रनमा अविजित रहे । कप्तान बाबर आजम ६३ बलमा ६६ रनमा नटआउट रहे ।
त्यसअघि बैंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ४०१ रन बनाएको थियो । न्युजिल्यान्डका ओपनर रचिन रविन्द्रले ९४ बलमा १५ चौका र १ छक्कासहित १०८ रनको शतकीय इनिङ खेलेका थिए ।
यस जीतसँगै पाकिस्तानले सेमिफाइनल पुग्ने आशा जीवितै राखेको छ भने लगातार चौथो हार व्यहोरेको न्युजिल्यान्डको सम्भावना जीवितै भएपनि अन्य टोलीको नतिजामा पनि भर पर्नु पर्ने हुन्छ । न्युजिल्यान्डको यस हारले दक्षिण अफ्रिका भने सेमिफाइनलमा छनौट भएको छ ।
Comments

