जाजरकोट भूकम्पमा परी हालसम्म ६ जनाको ज्यान गएको पुष्टि

काठमाडौं, १८ कात्तिक । शुक्रबार मध्यराति जाजरकोट केन्द्र भएर गएको भूकम्पमा भौतिक तथा मानवीय क्षतिको विवरण आउन थालेको छ ।
मध्यराति जाजरकोटको रामेडाँडा आसपास केन्द्र भएर गएको भूकम्पमा परी रुकुम पश्चिमको आठबिसकोटमा हालसम्म ६ जनाको ज्यान गएको पुष्टि भएको छ । भूकम्पले धेरै घरहरुमा क्षति गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुमले दिएको जानकारी अनुसार आठबिसकोट नगरपालिका-११ मा एकै परिवारका ६ जनाको ज्यान गएको जनाइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
जाजरकोटको रामेडाँडा आसपास केन्द्र भएर राति ११ बजेर ४९ मिनेटमा ६.४ म्याग्निट्युडको भूकम्प गएको हो । भूकम्पको शक्तिशाली धक्का काठमाडौंं लगायत देशका विभिन्न स्थानमा महसुस गरिएको थियो ।

