रिगलको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं, १६ कात्तिक । सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’ लाई आममाफी मार्फत कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरिदिएको छ।
कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बुधबारसम्म दुवै तर्फको बहस सुनिसकेपछि आज निर्णय सुनाएको हो।
२०७२ असारमा बाँकेको नेपालगञ्जमा खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएका रिगलले जन्मकैदको सजाय भोगिरहेका थिए ।
सरकारले यसै वर्ष संविधान दिवसका अवसरमा कैद माफी दिएपछि उनी जिल्ला कारागार, दाङबाट छुटेका थिए । अब उनी फेरि कारागार चलान हुने छन् ।

