राम्रो खेलमा ध्यान दिएका छौं, कुनै पनि टिमलाई हल्का रुपमा लिँदैनौं: कप्तान रोहित

काठमाडौं, १२ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आसन्‍न टी-२० विश्‍वकप एसिया फाइनल्समा सहभागी कुनै पनि टिमलाई हल्का रुपमा नलिने बताएका छन् ।

आइसिसी टी२० विश्‍वकप छनौटअघिको पत्रकार सम्मेलनमा कुरा गर्दै रोहितले आफुहरु राम्रो खेल प्रस्तुत गर्ने कुरामा नै केन्द्रित रहेको बताए । टी२० विश्‍वकप छनौटको एसिया फाइनल्स सोमबारदेखि काठमाडौंमा सुरु हुँदै छ ।

अघिल्लोपटक सेमिफाइनलमा युएईसँग पराजित भई छनौट हुन नसकेको प्रसङ्गमा उनले पहिले के भए भन्‍ने कुराहरु बिर्सिसकेको र त्यसलाई अब परिवर्तन पनि गर्न नसकिने बताउँदै अब आउने खेलहरुकै बारेमा बढी ध्यान हुने जवाफ दिए ।

‘पहिले केके भए त्यो अब सम्झिराखेर अर्थ छैन, त्यो सकिइसक्यो र अब त्यसलाई चेन्ज गर्न पनि सकिँदैन’, उनले भने, ‘हाम्रा लागि यो एकदम ठुलो अवसर हो, यसमा राम्रो प्रदर्शन गर्दै अघि बढ्ने नै सोच हुने छ । हामी कुनै पनि टिमलाई हल्का रुपमा लिँदैनौं ।’

त्यस्तै प्रशिक्षक मोन्टी देशाईले पनि यस विश्‍वकप छनौट नेपालका लागि ठुलो अवसरका रुपमा रहेको बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय