बीबी एयरवेज मार्फत यसरी हुँदैछ भवन भट्टको ‘कम्ब्याक’

काठमाडौं, ८ कार्तिक । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष एवं युवा व्यवसायी भवन भट्टले आफ्नो पुरानै कम्पनी बीबी एयरवेजलाई पुनः  संचालन गर्दै अन्तर्राष्ट्रिय उडान मार्फत व्यवसायमा ‘कम्ब्याक’ गर्ने भएका छन् ।

आफू अध्यक्ष रहेको बीबी एयरवेजको नयाँ व्यावसायिक योजना स्वीकृत भएसंगै १२ बर्षपछी भवन भट्ट पुनः एयरलाइन्स बिजनेस मार्फत नेपाली ब्यबसायमा ‘कम्ब्याक’ गर्न लागेका हुन्। उनको जापानमा होटल तथा रेष्टुरेन्टमा सबैभन्दा ठूलो चेन बिजनेस रहेको छ।

केही प्राबिधिक पक्षलाई अध्ययन गरेर केही समय अगाडी नेपाल नागरिक उड्डयन प्राधिकरणले बीबी एयरवेजको व्यावसायिक योजना स्वीकृत गरेको छ।२०६८ सालमा स्थापना भएको बीबी एयरवेजले त्यसको एकवर्षपछि नै २०६९ भदौ २८ गते काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो। कम्बोडियाको टोन्ले साप एयरलाइन्ससँग एक थान ‘बोइङ ७५७-२००’ सिरिजको जहाज भाडामा लिएर उडान गरेपनि २ महिना मै उडान बन्द गरेको थियो।

तत्कालीन अवस्थामा व्यावसायिक उडानलाई निरन्तरता दिन नसक्दा बीबी एयरवेजको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बनमा परेको थियो।त्यसपछि एयरवेजले २०७८ मा मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट एयरलाइन्स सञ्चालनको अनुमति पत्र नवीकरण गरेको थियो।बीबी एयरवेजले सबैभन्दा पहिला लाइसेन्समा फ्लिट (जहाज) को प्रकार परिवर्तन गर्दै इजाजत नवीकरण गरेको थियो।

पहिले बोइङ मार्फत अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भनेर लाइसेन्स लिएको बीबी एयरवेजले अब एयरबस जहाज ल्याएर उडान गर्नेगरी अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालनको लाइसेन्स नवीकरण गरेको हो। एयरवेजले एयरलाइन्स सञ्चालनको लाइसेन्स नवीकरण गर्नासाथ एओसी ब्युँताउन प्राधिकरणमा निवेदन दिएको थियो।

एनओसी पाएसँगै अब एयरवेजले जहाज खरिद तथा आवश्यक जनशक्ति जुटाउने काम गर्ने भएको छ। जहाज आएपछि भने बीबीले उडानका लागि आवश्यक थप सुबिधा पाउने छ।

व्यावसायिक योजनामा एयरवेजले पाँचवटा न्यारोबडी जहाज ल्याएर उडान गर्ने विषय समावेश गरेको छ। यसअघि पनि २०७४ सालमा नेपाल एयरलाइन्सको पुरानो बोइङ जहाज किनेको बीबीले उडान गर्ने योजना बनाएको थियो। तर त्यो जहाजबाट पनि बीबीले उडान गर्न सकेन।

अबको व्यावसायिक योजना अन्तर्गत अन्तर्राष्ट्रिय साझेदारी तथा विदेशी लगानी पनि ल्याउने बीबीका तर्फबाट प्रतिबद्धता जाहेर भएको स्रोतको भनाइ छ।

हाल नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति पाएका दुईवटा मात्रै घरेलु एयरलाइन्स संचालनमा छन्। चारवटा एयरलाइन्सले अनुमति लिएको भएपनी यसमा बुद्ध एयरले सीमित गन्तव्यमा मात्र उडान गरिरहेको छ भने श्री एयरलाइन्सले चार्टर्ड उडानको मात्र अनुमति पाएको छ। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले भने उडान गरिरहेका छन्। 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय