त्रिकोणात्मक श्रृंखलामा युएईको पहिलो जीत, हङकङको तेस्रो हार

काठमाडौं, ५ कात्तिक । नेपाल, हङकङ र युएई सम्मिलित नेपाल टी-२० त्रिकोणात्मक श्रृंखलामा युएईले पहिलो जीत हासिल गरेको छ । आइतबार भएको श्रृंखलाको चौथो खेलमा युएईले हङकङ्लाई ६ विकेटले हराएको हो ।
हङकङले दिएको १५० रनको लक्ष्य युएईले १२ बल अगावै ४ विकेटको क्षतिमा परा गर्यो । युएईका मोहम्मद वासिमले १७ बलमा ४० रनको विस्फोटक पारी खेलेर आउट भए । त्यस्तै खालिद शाह ३७ र वृत्या अरविन्द २९ रनमा आउट भए । अलिशान शराफु २० रनमा अविजित रहे ।
हङकङका यासिम मुर्ताजाले ४ ओभरमा २० रन दिएर २ विकेट लिए । त्यस्तै एहसान खानले ४ ओभरमा २२ रन दिएर १ विकेट लिए । कप्तान निजाकात खानले २ ओभरमा २३ रन दिएर १ विकेट लिए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा विकेट ५ गुमाएर १४९ रन बनाउँदै युएईलाई १५० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
हङकङका लागि बाबर हायातले ४५ बलमा ६६ रनको अर्धतकीय पारी खेलेका थिए । उनले ३ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यस्तै एइजाज खान ४८ रनमा अविजित रहे ।
युएईका जाहुर खानले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए । त्यस्तै निलन्श केशवानीले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए ।

