
बडादशैंको आठौं दिन आज महाअष्टमी
काठमाडौं, ५ कात्तिक । बडादशैंको आठौं दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ । दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ ।


काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत शक्तिपीठमा बलि दिने प्रचलन छ ।

यस्तै, काभ्रेस्थित पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगञ्जको गहवामाई, सप्तरीको छिन्नमस्ता, जनकपुर राजदेवी, डडेल्धुरा उग्रतारालगायत पीठहरुमा पूजाआराधना हुन्छ ।
दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीक मानेर चामल, सुनचाँदीका गहना, सुपारी, जनै र नैवेद्यसहित नौ वटा वस्तुको दुर्गा थापी पूजा गर्ने चलन छ । किसानले फलामे औजारको पूजा गर्छन् । यस्तै, सवारीधनीहरुले आफ्ना साधनलाई बलिसहित पूजा गर्छन् ।
आजको दिन महाकालीस्वरुपा भद्रकालीको विशेष पूजा गर्ने गरिएको छ ।
Comments

