
एनआरएनए फुट्दै, बद्री केसीले सपथ लिएसँगै आजै अर्को समानान्तर समिति !
काठमाडौं, ४ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) फुट तर्फ अगाडी बढेको छ। निर्वाचित नेतृत्वले सपथ खाएसँगै अर्को समूहले समानान्तर समिति बनाउने तयारी थालेको छ।


गैरआवासीय नेपाली संघ फेरि विभाजन उन्मुख भएपछि धेरैजसो प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् ।आगामी २ बर्षका लागि नयाँ नेतृत्व चयन गर्न भएको चुनाव र त्यसपछिको चुनावी परिणामले संघमा विवाद उत्पन्न भएको हो। चुनावी नतिजा अस्वीकार गरेको समुहले बद्री केसीको समुहलाई नमान्ने भनेसँगै एनआरएन दुई टुक्रा हुने भएको हो ।

बिहिवार सम्पन्न निर्वाचनमा बद्री केसीले महेशकुमार श्रेष्ठ र आर के शर्मालाई पराजित गरेको नतिजा आएको थियो ।केसी एमाले निकट हुन भने श्रेष्ठ कांग्रेस र शर्मा माओवादी समर्थक हुन् । श्रेष्ठ र शर्माले नतिजा नस्विकार्ने भनेपछि उक्त विवाद प्रधानमन्त्री कार्यालय हुँदै प्ररराष्ट्र मन्त्रालय र साइबर क्राइमसम्म पुगेको थियो।
तर,निर्वाचन समितिले नयाँ निर्वाचित टिमलाई आधिकारिकता दिएको छ ।समितिले विजयी उम्मेदवारहरुलाई प्रमाणपत्र वितरण र सपथग्रहण गरायो । अर्कोतर्फ पराजित समूह भने समानान्तर कमिटी घोषणाको तयारीमा रहेको छ । उनीहरुले आज ५ बजे पत्रकार सम्मेलन गर्ने र त्यही समय समानान्तर समिति घोषणा गर्ने बुझिएको छ।
निर्वाचनमा उपाध्यक्षका उम्मेदवार केसव पौडेलको शून्य मत आएको विषयलाई लिएर विवाद भएको थियो । यसैलाई देखाएर अध्यक्षमा पराजित दुई उम्मेदवारले परिणाम नमान्ने अडान लिएसंगै महाधिवेशन स्थलमा नाराबाजी भएको थियो।
भेरोले पठाएको अडिटेड रिपोर्टलाई निर्वाचन समितिले सही ठह्याएपश्चात निर्वाचितहरुको सूची वेवसाइटमा प्रकाशित गरिएको हो । आजै सपथग्रहण गराएर प्रमुख निर्वाचन आयुक्तले हस्ताक्षर गरेको प्रमाणपत्र विजयी उम्मेदवारहरुलाई दिई सकेको छ।
यद्यपि पराजित समूहले भने अझै पनि परिणाम स्वीकार गरेको छैन । अध्यक्षमा हारेका दुई उम्मेदार शर्मा र श्रेष्ठ निर्वाचन प्रक्रिया नै पूर्णरुपमा रद्द गर्नुपर्ने अडानमा छन् । शुक्रबार यहि बिषयमा दुई पक्षबीच निर्वाचन परिणाममा भएको गडबडीबारे प्राविधिक समिति बनाउने र त्यसले १५ दिनभित्र रिपोर्ट दिएपछि त्यसका आधारमा अघि बढ्ने समझदारी भएको थियो। तर,आज उक्त सहमति तोड्दै एकपक्षीयरुपमा सपथग्रहण गरिएपछि असन्तुष्ट समूह आक्रोशित बनेका छन् । उनीहरुको तर्फबाट पनि आज रातिसम्म कमिटीको घोषणा हुन सक्ने श्रेष्ठ निकट एक प्रतिनिधिले जानकारी दिए ।
अध्यक्षमा पराजित मध्य एक उम्मेदवार अध्यक्ष बनेर कमिटी निर्माण हुने स्रोतले दावी गर्यो । त्यसमा मत बढी आएको कारण आर के शर्मा अध्यक्ष हुनसक्ने बताइएको छ। उनीहरुको पक्षमा केही पुर्व अध्यक्ष र पदाधिकारी समेत रहने देखिन्छ।
Comments

