
हङकङलाई हराउँदै नेपाल एक खेलअगावै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा
काठमाडौं, ४ कात्तिक । नेपाल, हङकङ र युएई सम्मिलित टी-२०आई त्रिकोणात्मक श्रृंखलाअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले हङकङलाई हराएको छ । नेपालले हङकङमाथि ७९ रनको जीत हासिल गर्दै श्रृंखलाको फाइनलमा स्थान बनाएको छ ।


नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङ २० ओभरमा ९ विकेट गुमाएर १३४ रनमा रोकियो । हङकङका लागि अन्शुमन राथले सर्वाधिक ४५ रन बनाए । एइजाज खानले २५ तथा बाबर हायातले २० रन बनाए ।

नेपालका लागि करण केसी, सोमपाल कामी र ललित राजवंशीले २-२ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र प्रतिश जिसीले १ विकेट लिए । प्रतिशले टी२०आईमा डेब्यु विकेट लिए ।
मुलपानीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले हङकङलाई २१४ रनको बलियो लक्ष्य दिएको छ । नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनायो ।
नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विस्फोटक अर्धशतक प्रहार गरे । ४१ बल खेलेका कुशलले ९ छक्का र ३ चौकासहित ९१ रन बनाए । दीपेन्द्रले ५७ रन बनाएर आउट भए ।
यी दुई ब्याटर मिलेर शतकीय साझेदारी गरेका थिए । नेपाल ५५-४ को अवस्थामा रहेका बेला यी दुई मिलेर इनिङ उकासेका थिए । हङकङका मोहम्मद गनजफर र हारुन अर्शदले २-२ विकेट लिँदा आयुष शुक्ला र एइजाज खानले १ १ विकेट लिए ।
Comments

