विश्‍वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, ४ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्‍वकप अन्तर्गत शनिबार दुई खेल हुँदै छन् । आज श्रीलंका र नेदरल्यान्ड्स तथा इंग्ल्यान्ड र दक्षिण अफ्रिका खेल्दै छन् ।

लखनउस्थित एकना रङ्गशालामा विहान पौने ११ बजेदेखि श्रीलंका र नेदरल्यान्ड्सबीच खेल हुँदै छ । दुवै टोलीले तीन खेल खेल्दा श्रीलंका जीतविहीन छ भने नेदरल्यान्ड्स दुई खेलमा पराजित हुँदा तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक जीत हासिल गरेको थियो ।

श्रीलंका अ‍ंकविहीन हुँदै अंकतालिकाको पुछारमा छ भने नेदरल्यान्ड्स २ अंकसहित आठौं स्थानमा छ । श्रीलंका यस विश्‍वकपको पहिलो जीतको खोजीमा हुनेछ ।

त्यस्तै दिउँसो सवा २ बजेदेखि मुम्बईस्थित वाङ्खडे स्टेडियममा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच खेल हुने छ । साविक विजेता इंग्ल्यान्ड तीन खेल खेल्दा एक मात्र जीत निकाल्न सफल भएको छ भने दक्षिण अफ्रिकाले दुई जीत निकालेको छ ।

दक्षिण अफ्रिका पछिल्लो खेलमा नेदरल्यान्ड्ससँग पराजित हुँदा इंग्ल्यान्ड अफगानिस्तानसँग पराजित भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय