
गाडी दुर्घटना भएपछि होटलमा पुगेर चालकले किन गरे आत्महत्या ?
धरान, ३ कात्तिक । आफुले चलाएको गाडीले स्कुटरलाई ठक्कर दिएर दुई जना घाइते भएपछि चालकले होटलमा पुगेर आत्महत्या गरेका छन् । धरान उपमहानगरपालिका-९ बगैचालाइनस्थित होटल रत्न इनमा कोठाभित्र एक युवाको शव फेला परेपछि यो रहस्य बाहिरिएको हो।


सुनसरीको रामधुनी-३ का २४ वर्षीय विश्वमणी आचार्यको शव होटलमा फेला परेको हो । उनी गाडी चालक हुन् । मृतक आचार्य भेटनरी औषधी व्यापारीको बोलेरो चालक रहेको र पहाडी क्षेत्रमा पैसा संकलन गरेर फर्कदै गर्दा उनको बोलेरो दुर्घटनामा परेको थियो।धरान-भेडेटार सडकखण्डमा उनको बोलेरोले स्कुटरलाई ठक्कर दिएको र स्कुटर ट्रकमा गएर च्यापिएको थियो । उक्त घटनामा स्कुटर चालक श्रीमान्, श्रीमति गम्भीर घाइते भएर अस्पतालमा उपचाररत छन् ।

घटना पछि उनी कार्यरत भेटनरी फर्मका सञ्चालकका छोरालाई एक पटक फोन गरेर ‘मलाई बचाउनुस्’ भनेको र त्यसपछि मोवाइल स्वीच अफ गरेको देखिएको छ। होटलमा मृत भेटीएका आचार्यको घाटीमा ब्लेडले काटेको घाउ छ भने उनले संकलन गरेर ल्याएको पैसा पनि कोठामा भेटिएको प्रहरीले जनाएको छ।
कोठाभित्रैबाट चुकुल लगाएर घाँटी ब्लेडले काटेको अवस्थामा आचार्यको शव भेटिएको ईलाका प्रहरी कार्यालयका प्रतिनिधि सहित वडा सदस्य र स्थानीयले बताएका छन् ।
प्रहरीका अनुसार कोठाको चुलुक वलियो गरि भित्रैबाट लगाएको र झ्यालहरु पनि ग्रिल भएको कारण अन्य कोही प्रवेश गर्नसक्ने अवस्था थिएन ।होटलको ढोका फोड्दा उपस्थित वडा नं ९ की वडा सदस्य विन्दु कार्कीले पनि ब्लेडले घाँटी रेटेर लडेको अवस्थामा शव भेटिएको बताइन् ।
Comments

