
हङकङमाथि नेपालको सहज जीत
काठमाडौं, २ कात्तिक । नेपाल, हङकङ र युएई सम्मिलित नेपाल टी-२० त्रिकोणात्मक श्रृंखलामा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । बिहिबार भएको खेलमा नेपालले हङकङमाथि ६ विकेटको जीत निकाल्यो ।


हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । रोहित पौडेल २५ रनमा अविजित रहे । हङकङका लागि एहसान खानले ३ विकेट लिँदा यासिम मुर्ताजाले १ विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ १९.३ ओभरमा ९४ रनमा समेटिएको थियो । हङकङका लागि यासिम मुर्ताजाले सर्वाधिक ३६ रन बनाए भने जिशान अलीले १७ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन् ।
नेपालका लागि करण केसीले ४ विकेट लिएका थिए भने सोमपाल कामी र अविनाश बोहराले २-२ विकेट लिँदा श्याम ढकाल र कुशल मल्लले १-१ विकेट लिए ।
Comments

