
गैरआवासीय नेपाली संघको निर्वाचन आज, पुरै माहोल श्रेष्ठको पक्षमा
काठमाडौ, २ कार्तिक। गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आज (बिहिवार)निर्वाचन हुँदैछ । आगामी नेतृत्वको लागि ३ जना अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् ।


अध्यक्षका अर्का प्रत्यासी रविना थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अब ३ जना प्रतिस्पर्धा गर्दैछन् । रविनाले अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन् । उनको उम्मेदवारी फिर्ताले श्रेष्ठको जित सुनिश्चित देखिएको प्रतिनिधिहरुको विश्लेषण छ। अब अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्माबीच प्रतिष्पर्धा हुँदैछ ।

विदेशमा रहेका नेपालीहरुका लागि भने गएरातिदेखि नै अनलाइन भोटिङ खुला गरिएको छ । अनलाइनबाट चौबीस घण्टाभित्र मतदान गरिसक्नुपर्ने व्यवस्था छ । नेपालमा रहेका प्रतिनिधिहरुलाई भने बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म मतदानको समय तोकिएको छ ।
४ हजार २ सय २७ प्रतिनिधिमध्ये झण्डै ९ सय प्रतिनिधिले नेपालबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । एनआरएनएको ११ औँ महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।
एनआरएनएले ९६ हजार संगठित सदस्य रहेको जनाएको छ ।एनआरएनएमा ७४ पदका लागि एक सय २० जनाको उम्मेदवारी रहेको छ । अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजनाबीच प्रतिस्पर्धा हुँदैछ । दुई उपमहासचिवमा पाँच जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन् ।
Comments

