नेपाल र हङकङ साढे ३ वर्षपछि टी२०आईमा भिड्दै

काठमाडौं, २ कात्तिक । नेपाल, हङकङ र युएई सम्मिलित नेपाल टी-२० त्रिकोणात्मक श्रृंखलामा आज नेपालले हङकङसँग खेल्दै छ । मुलपानी क्रिकेट मैदानमा विहान ११ बजेदेखि खेल सुरु हुने छ ।

हालसम्म नेपाल र हङकङ टी२० र टी२०आई गरी ७ पटक आमनेसामने भएका छन् । नेपाल चार खेलमा विजयी हुँदा हङकङले तीन खेल जितेको छ । नेपाल र हङकङ साढे तीन वर्षपछि टी२०आई मा भिड्न लागेका हुन् ।

पछिल्लोपटक २०२० को मार्चमा एसिसी इस्टर्न रिजन टी-२० मा भएको खेलमा हङकङले नेपाललाई ४३ रनले हराएको छ । यद्यपि त्यसबेलाभन्दा नेपाल र हङकङ दुवै टोलीमा परिवर्तन छ ।

नेपाली टोलीमा अहिले कुशल भुर्तेल, आसिफ शेख, ललित राजवंशी लगायतका खेलाडीहरु छन् भने हङकङको टोलीमा बाबर हायात, अन्शुमन राथ फर्किएका छन् । बाबर र राथ पावर हिटर हुन् ।

पहिलो खेलमा नेपालले बुधबार युएईमाथि ७ विकेटको जीत हासिल गरेको थियो । कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले ९३ रनको अविजित साझेदारी गरेपछि नेपालले सहज जित हासिल गर्‍यो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय