त्रिकोणात्मक श्रृंखलामा नेपालको विजयी सुरुवात

काठमाडौं, १ कात्तिक । नेपाल, हङकङ र युएई सम्मिलित नेपाल टी-२० त्रिकोणात्मक श्रृंखलामा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

युएईले दिएको १४१ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कप्तान रोहित पौडेलले ५१ रनको अविजित पारी खेले भने दीपेन्द्रसिंह ऐरी ३४ रनमा अविजित रहे । आसिफ शेखले २३ तथा कुशल भुर्तेल १४ र कुशल मल्ल ११ रनमा आउट भए । युएईका निलन्श केशवानी र अली नासिरले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनाएको थियो । बासिल हामिदले ५१ रनको अर्धशतकीय पारी खेले भने अली नासिरले ३२ रन बनाए ।

नेपालका लागि करण केसीले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए भने गुल्शन झाले ३ ओभरमा ११ रन दिएर २ विकेट लिए । त्यस्तै सोमपाल कामी र अविनाश बोहराले १ १ विकेट हात पारेका थिए ।

नेपालले अब दोस्रो खेलमा बिहिबार हङकङसँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय