एनआरएनएको महाधिवेशन आजबाट, अध्यक्षमा महेश श्रेष्ठ बलियो दाबेदार

काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ महाधिवेशन आजदेखि काठमाडौको होटल सोल्टीमा सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने महाधिवेशनमा ४ जनाले अध्यक्षको लागि प्रतिस्पर्धा गर्दैछन् । हालका अध्यक्ष २ जना र हाल उपाध्यक्ष रहेका २ जनाले अध्यक्षमा उम्मेदावारी दर्ता गराएका छन् ।

आज सुरु भएर कार्तिक ३ गते सकिने महाधिवेशनमा  जापानमा रहेर व्यवसाय गर्दै आएका महेशकुमार श्रेष्ठसहित रुसका डा. बद्री केसी, अमेरिकाकी रविना थापा र कतारका राजेन्द्रकुमार शर्माले उम्मेदवारी दर्ता गराएका हुन्।

नेपाली कांग्रेससँग निकट रहेका अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठ हालका उपाध्यक्ष हुन् । उनी गठबन्धनको साझा उम्मेदवार बनेका छन् । यद्यपि माओवादी निकटका राजेन्द्रकुमार शर्माले पनि उम्मेदवारी दिएका छन् । तर, शर्माको पक्षमा लहर छैन । त्यसैले पनि श्रेष्ठ गठबन्धनको साझा उम्मेदवार हुनसक्छन् । संघको स्थापनादेखि नै एनआरएन अभियानमा जोडिएका श्रेष्ठ जापानबाट राष्ट्रिय परिषद्को संस्थापक हुँदै २०१९–०२१ मा कोषाध्यक्ष भएका थिए।

उनले जापान र नेपालमा व्यवसाय गर्दै आएका छन्। सिटी एक्सप्रेस मनी ट्रान्सफरदेखि सूचना प्रविधि, पर्यटन, जलविद्युत तथा वित्तीय क्षेत्रमा उनले लगानी गरेका छन्। श्रेष्ठलाई पूर्वअध्यक्ष जीवा लामिछाने,भवन भट्टदेखि हालका अध्यक्ष कुल आचार्यले समेत साथ दिएको चर्चा छ। श्रेष्ठसँग सबैलाई मिलाएर लैजान सक्ने क्षमता रहेको भन्दै कतिपय सदस्यहरुले उनको पक्षमा लबिङ सुरु गरेका छन् ।महाधिवेशनले आगामी दुई बर्षे (२०२३–२०२५) कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

विश्वभरका ४२ सय एनआरएनए प्रतिनिधिहरुले अनलाईन तथा महाधिवेशन स्थलमा भौतिक रुपमा मतदान गरि नयाँ नेतृत्व चयन गर्नेछन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय