
इंग्ल्यान्डमाथि अफगानिस्तानको ऐतिहासिक जीत
काठमाडौं, २८ असोज । भारतमा जारी आइसिसी क्रिकेट विश्वकपमा अफगानिस्तानले ऐतिहासिक जीत हासिल गरेको छ । अफगानिस्तानले इंग्ल्यान्डलाई ६९ रनले हराउँदै इतिहास रच्न सफल भयो ।


अफगानिस्तानले दिएको २८५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४०.३ ओभरमा २१५ रनमा समेटियो । इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले सर्वाधिक ६६ रन बनाए । डेविड मलानले ३२ रन बनाए । अन्यले उल्लेख्य योगदान दिन सकेनन् ।

इंग्ल्यान्डविरुद्ध ऐतिहासिक जीत निकाल्ने क्रममा अफगानी बलर मुजीब उर रहमानले १० ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए । त्यस्तै राशिद खानले ९.३ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । मोहम्मद नाबीले २ विकेट लिए भने फजलहक फारुखी र नवीन उल हकको नाममा १-१ विकेट रह्यो ।
दिल्ली स्थित अरुण जेट्ली रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले इंग्ल्यान्डलाई २८५ रनको लक्ष्य दिएको थियो । अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाएर २८४ रन बनायो ।
ओपनर रहमनुल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए भने इक्रम अली खिलले ५८ रन बनाउँदा इब्राहिम जाद्रान र मुजिब उर रहमानले समान २८ रन तथा राशिद खानले २३ रनको योगदान दिए ।
इंग्ल्यान्डका आदिल राशिदले १० ओभरमा ४२ रन दिएर ३ विकेट लिए । मार्क वूडले ९ ओभरमा ५० रन दिएर २ विकेट लिए । लियाम लिभिङ्स्टनले १० ओभरमा ३३ रन दिएर १ विकेट लिए । रीश टोपली र जो रुटले पनि १ १ विकेट लिए ।
अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमै पहिलो पटक इंग्ल्यान्डलाई हराएको हो ।
Comments

