बागमतीमा इन्द्र बानियाँसहित कांग्रेसका २० सांसद बिद्रोह गर्दै

काठमाडौं, २८असोज । बागमती प्रदेश सभामा रहेका कांग्रेस भित्रको संस्थापन इतर समूहले कोशी प्रदेशमा जस्तै विद्रोह गर्ने भएको छ । कोशीमा डा.शेखर कोइराला समुहका ८ सांसदले विद्रोह गरी मुख्यमन्त्री हात पार्न सफल भएका थिए ।

बागमतीमा पनि भावी मुख्यमन्त्री बन्ने दौडमा रहेका कांग्रेस सांसद  इन्द्र बानियाँसहित पार्टीका २० जना सांसद विद्रोहको तयारीमा रहेको गोप्य सूचना बाहिरीएको छ। बानियाँ संस्थापन समुहका सांसद बहादुरसिंह लामासंग संसदीय दलमा पराजित भएका थिए।

संविधानको धारा १६८ (५) अनुसार कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेका ३९ सांसदको समर्थनमा कोशीका केदार कार्की मुख्यमन्त्री भएसँगै बागमतीमा बानियाँले निहुँ खोज्न थालेको स्रोतको दाबी छ। जम्मा १ सय १० जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा कांग्रेसको २० सांसदलाई लिएर बिद्रोह गर्न सके एमालेका २७ जनाको समर्थन समेत बानियाँले पाउने देखिन्छ।

हाल बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल मुख्यमन्त्री छन् । उनलाई कांग्रेसका ३७, नेकपा माओवादीका २१,एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन छ।सबभन्दा ठूलो दल भएर पनि बागमतीमा कांग्रेसको नेतृत्वमा मुख्यमन्त्री नभएको भन्दै धेरै नेताले असन्तुष्टी जनाउदै आएका छन् ।

संघीय सरकारमा जस्तै बागमतीमा पनि तेस्रो शक्तिको रुपमा रहेको माओवादी केन्द्रको नेतृत्वमा सरकार छ। माओवादीले मुख्यमन्त्री पाउदा कांग्रेसलाई ६ मन्त्रालय दिएको छ।तर, कांग्रेसभित्र आफ्नै पार्टी संसदीय दलका नेता बहादुर सिंह लामा र मुख्यमन्त्री जम्कट्टेलको तीव्र आलोचना भैरहेको छ।

हुन त पार्टी सभापति शेरबहादुर देउवाका बिश्वास पात्र मानिएका संसदीय दलका नेता लामा र इन्द्र बानियाँको बिचमा पुरानै तुष बाकी छ। पार्टी संसदीय दलको निर्वाचनकै बेला दुई नेताबीच दुश्मनी देखिएको थियो। हेटौंडाको होटलमा राखेर सांसदहरुलाइ प्रभावमा पारेको आरोप बानियाँ र लामा दुबैमाथी लगाइएको थियो। लामा र बानियाँको चुनावदेखिको तुष कांग्रेसको बागमती प्रदेश संसदीय दलभित्र अझै छ । त्यसमाथि लामाले आफूखुसी मन्त्री नियुक्त गरेको भन्दै कांग्रेसमा लफडा चलिरहेको छ। स्रोतका अनुसार पछिल्लो समय लामा र बानियाँको बोलचाल समेत छैन।

पछिल्लो घटनाक्रम अनुसार कांग्रेसमा सभापति देउवा र डा.शेखर कोइरालाबिच देखिएको खटपटले केन्द्र देखि सबै प्रदेश सरकार सङ्कटमा पर्ने भविस्यवाणी समेत हुन थालेको छ। कोशीमा शेखर समुहका केदार कार्की मुख्यमन्त्री बनेपछि संसदीय दलका नेता मुख्यमन्त्री वा प्रधानमन्त्री बन्ने कुराको समेत ‘क्रमभंग’ भएको छ।

कोशीमा संसदीय दलको नेता उद्धव थापा भए पनि केदार कार्की मुख्यमन्त्री भए जस्तै बागमतीमा पनि लामा संसदीय दलको नेता भएपनी बानियाँलाई मुख्यमन्त्री बनाउन कांग्रेसका बिद्रोही सांसदहरु लागिपरेका छन् । उनीहरुको गोप्य बैठक समेत बसेको स्रोतले बतायो।

केही दिन अघि गोप्य बैठक बसेर बानियाँको पक्षमा हस्ताक्षर अभियान समेत चलाइएको र त्यसपछि कोशीको परिस्थिति बुझेर अगाडी बढ्ने निर्णय भएको एक सांसदले बताए। उनका अनुसार माओवादीका तर्फबाट मुख्यमन्त्री रहेका जम्मकट्टेललाई उनकै पार्टीका सांसदहरुले समेत बिरोध गरेको र कांग्रेसमा बिद्रोही समूहले सरकार बनाउन अगाडी सरे साथ दिने भनेका छन् ।

हाल बागमतीमा कांग्रेसको ३७, एमालेको २७,माओवादी २१, राप्रपा १३, एकीकृत समाजवादी ७,नेमकिपाका ३  र हाम्रो नेपाली पार्टी  २ सीट रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय