गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन: मन्त्री शर्मा

– Rekha Sharma (File Photo)

दाङ, २७ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिलेको गणतान्त्रिक शासन व्यवस्थामा गल्ती गर्ने छुट कसैलाई नभएको दोहोर्‍याएकी छन् ।

शनिबार दाङको तुलसीपुर–१९ मा नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पहिले पहिले ठूलाबडा भनिनेहरुले जे गरे पनि छुट हुने तर सामान्य मानिसलाई मात्र कानुन लाग्ने अवस्था रहेको भए पनि अहिले त्यो अवस्थाको अन्त्य भएको बताइन् ।

अहिले त्यस्तो व्यवस्थाको अन्त्य भएर देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेको प्रसङ्ग उल्लेख गर्दै उनले भनिन्, “अब गल्ती गर्ने कोही पनि कानुनभन्दा माथि हुँदैन, सानाठूला सबैलाई गल्तीअनुसारको कारबाही हुन्छ, यो वास्तविकतालाई वर्तमान सरकारले काम गरेर स्थापित गरिसकेको छ, सरकारको कामबाट यो पुष्टि भएको छ ।”

“कुनै पनि व्यक्तिले गल्ती गर्ने तर त्यसको दोष भने वर्तमान राजनीतिक व्यवस्थालाई लगाउने गरिएको छ यो प्रवृत्ति अत्यन्त गलत हो”, मन्त्री शर्माले भनिन्, “व्यक्तिले गल्ती गर्न सक्छ तर त्यसको दोष व्यवस्थाले लिन सक्दैन, लिनु पनि हुँदैन ।”

वर्तमान सरकार लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि दृढ र प्रतिबद्ध रहेको भन्दै मन्त्री शर्माले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नका लागि सरकार र जनताबीच तालमेल हुन आवश्यक रहेको बताइन् । उनले सरकारले सेवा प्रभाव र सुशासनलाई प्राथमिकतामा राखेको बताइन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय