मिचेल र विलियमसनको अर्धशतकमा न्युजिल्यान्डको लगातार तेस्रो जीत

काठमाडौं, २६ असोज । भारतमा जारी आइसिसी एकदिवसीय क्रिकेट विश्‍वकपमा न्युजिल्यान्डले लगातार तेस्रो जीत हासिल गरेको छ । न्युजिल्यान्डले बङ्गलादेशलाई ८ विकेटले हराएको हो ।

बङ्गलादेशले दिएको २४६ रनको लक्ष्य न्युजिल्यान्डले ४२.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । डारिल मिचेल ८९ रनमा अविजित रहे भने कप्तान केन विलियमसन ७८ रनमा अविजित हुँदा रिटायर्ड हर्ट हुँदै मैदान छाडे । डेभन कनवेले ४५ रन बनाए । बङ्गलादेशका शाकिब अल हसन र मुस्तफिजुर रहमानले १-१ विकेट हात पारे ।

त्यसअघि चेन्‍नईस्थित एमए चिदाबरम क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले न्युजिल्यान्डलाई २४६ रनको लक्ष्य दिएको थियो । बङ्गलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४५ रन बनायो ।

बङ्गलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ६६ रन बनाए भने महमदुल्लाह ४१ रनमा अविजित रहे । त्यस्तै कप्तान शाकिब अल हसनले ४० तथा मेहदी हसन मिराजले ३० रन बनाए ।

न्युजिल्यान्डका लकी फर्गुसनले १० ओभरमा ४९ रन दिएर ३ विकेट लिए भने ट्रेन्ट बोल्टले १० ओभरमा ४५ रन दिएर २ विकेट लिए । म्याट हेनरीले १० ओभरमा ५८ रन दिएर २ विकेट लिए । मिचेल सान्टनर र ग्लेन फिलिप्सले १-१ विकेट लिए ।

योसँगै न्युजिल्यान्ड ३ खेलमा ६ अंक जोड्दै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ र सेमिफाइनलमा पुग्‍ने सम्भावना सुरुवातदेखि नै बलियो बनाएको छ । बङ्गलादेशको ३ खेलमा २ अंक छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय