गैरआवासीय नेपाली सङ्घमा चुनावी सरगर्मी बढ्यो
अध्यक्षमा ५ जनाको चर्चा
काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)मा चुनावी सरगर्मी बढेको छ । असोज ३० देखि काठमाडौंमा हुने ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनले आगामी नेतृत्व चयन गर्नेछ।
गैरआवासीय नेपाली सङ्घका सबै अन्तर्राष्ट्रिय शाखाबाट ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा तयारीका लागि यसअघि ५९ राष्ट्रिय समन्वय परिषद्मा निर्वाचन सम्पन्न भइसकेको र त्यसबाट महाधिवेशनका लागि चार हजार दुई सय २७ अन्तर्राष्ट्रिय प्रतिनिधि चयन भएर आइसकेका छन।
महाधिवेशन असोज ३० देखि कत्तिक ३ अर्थात अक्टोबर १७ देखि २० तारिख सम्म काठमाडौँमा हुँदैछ । सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले महाधिवेशन उद्घाटन गर्ने भएछन् ।
यसपटक हुनलागेको ११औँ महाधिवेशनलाई २०औँ वर्षगाठको रुपमा समेत मनाउन लागिएको एनआरएनएका पदाधिकारीले जनाएका छन।असोज ३० गते बिहान राष्ट्रपतिले उद्घाटन गरेपछी कात्तिक १ गतेसम्म विश्व ज्ञान सम्मेलन हुने एनआरएनएले जनाएको छ।
सो क्रममा महिला र युवा विषयक सत्र पनि सञ्चालन हुनेछ।यसैगरी कात्तिक २ गते २४ घण्टा सम्म अनलाइनबाट मतदान हुने निर्वाचन कार्यतालिका छ । मतदानपछि समापन समारोह कात्तिक ३ गते साँझ प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ।
एनआरएनएले ‘फेसियल भेरिफिकेशन’ एप प्रयोग गरेर पहिलोपटक अनलाइन मतदान गर्ने ब्यबस्था मिलाएको हो।निर्वाचन समितिले मतदातालाई यो एपको लिङ्क पठाउने र लिङ्क खोलिसकेपछि अनुहार देखाएर त्यस एपले अनुमति दिएपछि मतदान गर्न पाइने छ ।
सन् २००३ अक्टोबर ११ मा स्थापना भएको एनआरएनमा हालसम्म उपेन्द्र महतो, जिवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट, कुमार पन्त, कुल आचार्य, रविना थापा र बद्री केसी गरी आठ जना अध्यक्ष भइसकेका छन। यसपटकको महाधिवेशनमा हालका अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्मा एवं उपमहासचिव विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । बद्री केसी र रविना थापा हाल अध्यक्ष भएपनी उनीहरुको कार्यकाल ६/६ महिना मात्रै थियो।
महाधिवेशनको निर्वाचन सम्पन्न गर्न अधिवक्ता यादव ढुङ्गानाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।उम्मेदवारी दिने अवधि असोज २७ गतेसम्म तोकिएको छ । असोज २९ गतेसम्म उम्मेदवारले प्रस्तावक र समर्थकसहितको सनाखत महाधिवेशनस्थलमै उपस्थित भएर गरिसक्नुपर्ने निर्वाचन तालिका छ ।महाधिवेशनमा कुल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछन् ।

