व्यक्तिगत रेकर्डमा ध्यान दिन्‍नँ, जिताउन नसकेकोमा माफी चाहन्छु: अन्जन

काठमाडौं, २५ असोज । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी अन्जन विष्टले आफूले व्यक्तिगत रेकर्डका लागि कहिले पनि नखेलेको बताएका छन् । लाओससँग बिहिबार १-१ को बराबरी खेलेपछि पोस्ट म्याच कन्फ्रेन्समा कुरा गर्दै उनले खेल जिताउन नसकेकोमा माफी समेत मागे ।

धेरैले बधाई पनि दिनुभयो, १३ गोल पुर्‍याएको कीर्तिमान बराबर गरेको भनेर, तर म कहिले पनि रेकर्डका लागि खेलेको हुन्‍नँ’, उनले भने, ‘जीतका लागि खेलेपछि गोल अवश्य पनि हुन्छ जसबाट भएपनि, मैले अझै धेरै खेल्न बाँकी छ जस्तो लाग्छ’ । अन्जनले खेलमा गोल गर्दै नेपाललाई हारबाट जोगाएका थिए । उनले राष्ट्रिय टोलीका लागि १३औं गोल गर्दै दुई नेपाली पूर्वखेलाडी हरि खड्का र निराजन रायमाझीको गोलसँग बराबरी गरे ।

उनले अगाडि थपे, ‘हामी आज बराबरीका लागि खेलेका थिएनौँ, घरेलु दर्शकको अगाडि जीत निकाल्न चाहन्थ्यौँ तर जिताउन सकिएन त्यसका लागि मनैदेखि माफी माग्‍न चाहन्छु’ ।

त्यस्तै नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मिडफिल्डमा कमजोर प्रदर्शन भएको स्वीकार गर्दै सुधार्नुपर्ने पक्षहरु धेरै नै रहेको बताए । साथै उनले रेफ्रीले पनि थुप्रै कमजोर निर्णयहरु गरेको भन्दै त्यसले दुःखी बनाएको बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय