सहकारीले विश्वासको संर्घष गर्नु परेको छः सीईओ गुरागाईं


काठमाडौं, २५ असोज।
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रि कुमार गुरागाईंले ‘वित्तीय सहकारीको जोखिम मापनः संरचना र पद्धति’ विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

बैंकले आयोजना गरेको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीको दोस्रो सत्रमा कार्यपत्र प्रस्तुत गर्दै उनले सहकारी क्षेत्रमा धेरै पक्षले जोखिम निम्त्याउने बताए ।

विश्लेषण नगरी जथाभावी गरिने लगानी, कर्मचारीको दक्षता अभाव र अन्य थुप्रै कारणले सहकारीमा जोखिम आउने गरेको र हाल सहकारीले विश्वासको संर्घष गरिरहनु परेको बताए । नियमनकारीको अप्रभावकारीता, संस्थाहरुमा सुशासनको अभाव, सामुहिक भावनाको कमी, श्रोत लागतको विश्लेषणको अभाव, संस्थागत पुँजी कमजोर, कर्जा लगानी नीतिको अभाव र त्यसको विश्लेषण नगर्ने परीपाटीले गर्दा सहकारीमा जोखिम आउने गरेको उनले बताए ।‘ऐन, नियमावलीले आन्तरिक कार्यविधिको व्यवस्था, कारोबारको लेखा राख्ने, वित्तीय विवरण प्रकाशन, कर्जा सूचना केन्द्र जस्ता थुपै कुरा बोलेको छ’, उनले भने, ‘तर कार्यान्वय गर्ननसक्दा सहकारीहरुमा जोखिम बढेर गएको हो ।’
सहकारी संस्थाहरुले जोखिमको व्यवस्थापन वर्गिकरण गर्दै संस्थालाई जोखिमरहित बनाउनु अहिलेको आवश्यकता भएको सीईओ गुरागाईंले बताए । उनले कोरिया र क्यानडाको उदाहरण दिँदै सहकारीको जोखिम व्यवस्थापनको मोडल उत्तम रहेको बताए । कोरियामा तीन तहको संरचना रहेको र त्यहाँको संस्थाको अनुगमन संस्थागत पुँजी र क्यामेल रेटिङ प्रणालीलाई आधार मानेर गर्ने गरेको बताए ।

जोखिमको पहिचान, मूल्यांकन र व्यवस्थापनलाई अध्ययन गरी संस्थामा लागू गर्न सके जोखिम न्युनिकरण गर्दै जान सकिने उनको भनाई छ । कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीको अध्यक्षता, टिप्पणी डा. नरहरी ढकालले गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले वित्तीय संकटका कारण सहकारीले गरेको लगानी संकटमा परेकाले असुलीका विधि समेत दिन सकेको भए कार्यक्रम प्रभावकारी हुने बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय