यु१९ प्रिमियर कपमा इरानमाथि नेपालको फराकिलो अन्तरको जीत

काठमाडौं, २५ असोज । मलेसियामा बिहीबारदेखि सुरु भएको एसिसी यू–१९ प्रिमियर कपमा नेपालले शानदार सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले इरानलाई २७४ रनको फराकिलो अन्तरले हराएको हो ।

नेपालले दिएको ३ सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा मात्र ७९ रन बनाउँदा अलआउट भयो । इरानका अमेर खोर्सान्दले सर्वाधिक ३७ रन बनाए ।

इरानलाई सस्तैमा समेट्न नेपालका दिपेश कँडेल र सुवास भण्डारीले समान ३ विकेट लिए भने आकाश चन्दले र हेमन्त धामीले समान २ विकेट लिए । सुवास भण्डारीले ८.५ ओभरमा ४ मेडन राख्दै ६ रन खर्चेर ३ विकेट लिए। दिपेश कँडेलले ७ ओभरमा ३ मेडन राख्दै ४ रन दिएर ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४०.१ ओभरमा ३५३ रनमा अलआउट भएको थियो । कप्तान देव खनालले कीर्तिमानी शतक प्रहार गरेका थिए । देवले ६० बलमा १२ चौका र ४ छक्काको मद्दतले १०० रन बनाए । यू–१९ टोलीबाट दुई शतक हान्ने देव पहिलो खेलाडी हुन् । दीपक डुम्रेले ६९ तथा दीपक बोहराले ६५ रन बनाएका थिए ।

इरानका लागि दद्रहमान राइसी र लमान निज्मान्दले समान ३ विकेट लिए। समान शेखी र जियाद राइसीले समान दुई विकेट लिए।

समूह चरणको दोस्रो खेलमा नेपालले आइतबार बहराइनविरुद्ध खेल्नेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय