बङ्गलादेशलाई फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्डद्धारा पहिलो जीत दर्ता
काठमाडौं, २३ असोज । भारतमा जारी आइसिसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत आज भएको पहिलो खेलमा इंग्ल्यान्ड विजयी भएको छ । विश्वकपको पहिलो जीत दर्ता गर्ने क्रममा इंग्ल्यान्डले बङ्गलादेशलाई १३७ रनले हराएको हो ।
इंग्ल्यान्डले दिएको ३६५ रनको लक्ष्य पछ्याएको बङ्गलादेश ४८.२ ओभरमा २२७ रनमा सीमित भयो । उसका लागि लिटन दासले सर्वाधिक ७६ तथा मुस्फिकर रहिमले ५१ रन बनाए । इंग्ल्यान्डका रिश टोपलीले ४ विकेट लिए भने क्रिस वोक्सले २ विकेट लिँदा आदिल राशिद, मार्क वूड, साम करान र लियाम लिभिङ्स्टनले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले बङ्गलादेशलाई ३६५ रनको विशाल लक्ष्य दिएको थियो । इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३६४ रन बनायो ।
इंग्ल्यान्डका डेविड मलानले सर्वाधिक १४० रनको योगदान दिए । १०७ बल खेलेका उनले १६ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यस्तै जो रुटले ८२ रन बनाए भने जोनी बेयरस्टोले ५२ रन बनाए ।
बङ्गलादेशका महेदी हसनले ८ ओभरमा ७१ रन खर्चेर ४ विकेट लिए भने शोरिफुल इस्लामले १० ओभरमा ७५ रन खर्चेर ३ विकेट लिए । तास्किन अहमद र कप्तान शाकिब अल हसनको नाममा १-१ विकेट रह्यो ।