बौद्ध स्थित अमिताभ मार्गको ढलान सम्पन्न, अध्यक्ष लामाले गरे उद्घाटन

काठमाडौं, २३ असोज । कामनपा-६ बौद्ध स्थित अमिताभ मार्गको ढलान निर्माण सम्पन्न भएपछि मंगलबार उद्घाटन गरिएको छ ।

कामनपा वडा नम्बर-६का वडा अध्यक्ष भुवन लामाले बाटो उद्घाटन गरेका हुन् ।उद्घाटन पछि धारणा राख्दै अध्यक्ष लामाले बाटो ढलान कार्यमा समन्वय र सहकार्य गर्ने सबैलाई धन्यवाद दिए।उनले स्थानीय उपभोक्ताको मागलाई वडामा जनप्रतिनिधि र कर्मचारी बिचको छलफलबाट निर्णय गराउन र छोटो समयमा निर्माण समेत सम्पन्न गर्न सकेकोमा खुशी ब्यक्त गरे।

बाटो ढलान भएपछि स्थानीय उपभोक्तासंगै अन्यत्रबाट बौद्ध घुम्न आउने स्वदेशी तथा बिदेशी पर्यटकलाई समेत हिंड्डुलमा सहज हुने अध्यक्ष लामाले बताए । उनले उपभोक्ता समितिको समन्वय र सहकार्य प्रती आभार व्यक्त गर्दै आगामी दिनमा पनि वडाको बिकास र समृद्धिमा लागिरहने प्रतिबद्धता व्यक्त गरे।

यसैगरी सोही बाटो टुसालदेखी बज्रबल क्याफे सम्म फराकिलो बनाउन आफुले अझै पहल गर्ने समेत बताए। तारागाउँ बिकास समिति अन्तर्गतको हायात होटललाई पत्राचार गरी बाटो फराकिलो गर्ने कुरामा लाग्न उपभोक्तालाई आग्रह गर्दै अध्यक्ष लामाले निर्माण सम्पन्न भएको बाटोमा तार,सडकबत्ती,सिसिक्यामेरा जडान तथा ढलको ब्यबस्थापन पनि हुने बताए।

उद्घाटन कार्यक्रममा वडा सदस्य भगवान थापा(नरेन्द्र), वडा सदस्य देवशुन्दर बज्राचार्य,लिला बिशुङ्खे लगायत इन्जिनियर शंकरनारायण श्रेष्ठ,निर्माण ब्यबसायी तथा नेपाली काङ्ग्रेसका बागमती प्रदेश सदस्य नातिकाजी कार्की सहित उपभोक्ता तथा स्थानीयको उपस्थिति थियो । उपभोक्ता समितिका तर्फबाट बाटो निर्माणको कार्य सम्पन्न गरेकोमा वडा तथा निर्माण व्यावसायीलाइ धन्यवाद दिइएको थियो ।

बज्रबल क्याफेदेखि टुसाल चोकसम्म करिब चार सय मिटर लम्बाइ र ६ मिटर चौडाईको बाटो ढलान निर्माण सोलिड बिल्डर्सले गरेको हो।सोलिड बिल्डर्सका प्रोपाइटर नातिकाजी कार्किले उपभोक्ता समिति र वडाले बाटो निर्माणमा सहयोग गरेको र छिटो काम सम्पन्न गर्न सकेको बताए।

उक्त बाटोको लागि ७५ लाखको बजेट व्यवस्थापन भएपनि भ्याट र ओभरहेड कटाई ५७ लाख २६ हजारको लागतमा सम्पन्न भएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय