स्वास्थमा गोकर्णेश्वर उत्कृष्ट अंकसहित प्रथम

काठमाडौं, १९ असोज । काठमाडौंका स्थानीय तहहरुमध्ये स्वास्थ्य सूचकाङ्कको आधारमा भएको मूल्यांकनमा गोकर्णेश्वर नगरपालिकाले प्रथम स्थान हासिल गरेको छ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय काठमाडौंले आर्थिक वर्ष २०७९/८० को वार्षिक समिक्षा गोष्ठीको अवसरमा गरेको मूल्यांकनमा गोकर्णेश्वर नगरपालिका प्रथम भएको हो।

स्वास्थ्य कार्यालय प्रमुख सागर घिमिरेका अनुसार काठमाडौं महानगरसहित काठमाडौंका सबै स्थानीय तहको मूल्यांकन भएको थियो।

‘सबै स्वास्थ्य संस्थाहरुले राख्ने हेल्थ म्यानज्मेन्ट इन्फरमेसन सिस्टमका आधारमा उक्त मुल्यांकन गरिएको थियो,’ घिमिरेले भने, ‘उक्त मुल्यांकन प्रदेश स्वास्थ्य निर्देशनालयको अगुवाईमा भएको थियो। यसमा काठमाडौं महानगर तथा यहाँका नगरपालिकाहरुको मुल्यांकन गरिएको थियो। जसमा गोकर्णेश्वरले पहिलो स्थान हासिल गरेको हो।’

गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य सेवाका क्षेत्रमा गरिरहेको कामको मूल्यांकन गर्दै स्वास्थ्यखबरले पनि दीगो विकास लक्ष्य अन्तर्गत नसर्ने रोगको उपचार, रोकथाम र जनचेतनाका क्षेत्रमा गरेको योगदानको कदर गर्दै स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान गरेको थियो।

यसैगरी, स्वास्थ्य कार्यालयको मूल्यांकनमा दक्षिणकाली नगरपालिकाले दोस्रो स्थान र कीर्तिपुर नगरपालिकाले तेस्रो स्थान हासिल गरेका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय