भारतसँगको अनुभवले मनोबल उच्च बनाउँदै विश्वकपमा छनौट हुने नेपालको लक्ष्य
प्रतिक भट्ट
काठमाडौं, १६ असोज । नेपाली क्रिकेट टोली पछिल्लो ६ महिनामा व्यस्त छ । एकदिवसीय विश्वकप छनौटदेखि एसिया कप र त्यसपछि एसियाली खेलकुदमा सहभागी भएर विश्वका उत्कृष्ट टोलीसँग खेल्ने मौका नेपालले पायो ।
एकदिवसीय विश्वकपमा वेस्ट इन्डिज, जिम्बावे, नेदरल्यान्ड्सजस्ता टोलीसँग खेलेको नेपालले एसिया कपमा विश्व क्रिकेटका दुई महारथी टोली भारत र पाकिस्तानसँग पनि खेल्यो । जित नलिएपनि नेपालले धेरै कुराहरुको अनुभव बटुलेर फर्किएका प्रतियोगिता थिए यी । पहिलो सहभागितामै जितको खासै आश गरिएको पनि थिएन तर आशा गरे अनुसारको प्रदशर्न भने खेलाडीहरुले गरे ।
त्यसपछि नेपालले एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा भारतसँग खेल्यो । मङ्गलबार विहान मात्र सम्पन्न खेलमा नेपाल २३ रनको अन्तरले मात्र पराजित भयो । यस खेलमा नेपालका खेलाडीहरुले उच्चस्तरको प्रदशर्न गरे । यसबाट बटुलेको अनुभवका साथ अब नजिकिँदै गरेको आइसिसी टी२० विश्वकप छनौटमा उत्कृष्ट प्रदशर्न गर्दै नेपाल विश्वकपमा छनौट हुने लक्ष्यका साथ अगाडि बढ्ने छ ।
टी२० विश्वकपको एसिया छनौट आगामी महिना नेपालमै हुँदै छ । त्यसअघि नेपालले युएई र हङकङसँग त्रिकोणात्मक सिरिज पनि खेल्ने छ । पछिल्ला खेलहरुमा नेपालको यात्रामा तगारो बन्दै आएको युएईविरुद्ध नेपालले अब उच्च स्तरको प्रदर्शन चाहन्छ ।

विश्वकप एसिया छनौटमा नेपाल ओमान, मलेसिया र सिंगापुरसँगै समूह ए मा रहेको छ । समूह बी मा युएई हङकङ बहराइन र एसिया क्वालिफायर ए को विजेता टोली रहने छ । एसिया क्वालिफायर ए जारी छ र विजेताको टुङ्गो लाग्न बाँकी छ ।
एसिया छनौटको दुई समूहबाट शीर्ष दुई/दुई टोली सेमिफाइनलमा जाने छन् । फाइनलमा पुग्ने दुई टोली २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी२० विश्वकपमा छनौट हुने छन् । छनौटको तयारी स्वरुप त्यसअघि नेपाल, युएई र हङकङले असोज ३० देखि त्रिकोणात्मक सिरिज पनि खेल्ने छन् ।
अघिल्लोपटक नेपाल सेमिफाइनलमा युएईसँग पराजित हुँदै विश्वकपबाट एक कदम नजिक पुगेर रोकिएको थियो । यसपटक नेपाल अनुभव र उच्च मनोबलका साथ खेल्दै टी२० विश्वकपमा छनौट हुन चाहनेछ ।
नेपालसँग विश्व क्रिकेटको हस्ती भारतसँग खेलेको अनुभव छ । पछिल्लो समयमा ठुला टोलीसँग खेलिरहेको हुँदा नेपालसँग अन्य एसोसियट टोलीभन्दा धेरै अनुभव छ । तिनै खेलहरु तथा भारतसँगको टी२०आई खेलको अनुभवले विश्वकपअघिको त्रिकोणात्मक सिरिजमा पनि नेपाललाई राम्रो अभ्यास हुने छ ।
यद्यपि विश्वकपमा छनौट हुन नेपालले केही पक्षमा सुधार गर्नुपर्ने हुन्छ । नेपालले बलरहरुलाई सही तरिकाले सदुपयोग गरी ब्याटरलाई दबाबमा राख्न सक्नुपर्छ । नेपालको डेथ बलिङ पनि राम्रो देखिएको छैन । त्यस्तै ब्याटिङमा पनि धैर्यताको आवश्यकता रहन्छ । नेपालको मुख्य चूनौति यसपटक पनि युएई नै हुन सक्छ ।

युएई टी२० मा आक्रामक शैलीमा प्रस्तुत हुन्छ । युएईले नेपाललाई ठुला प्रतियोगताको महत्वपूर्ण खेलमा दबाबमा राखेको हुन्छ । यसपटक पनि सेमिफाइनलमा युएईसँग भेट भएको खण्डमा नेपालले अघिल्लोपटकको बदला लिँदै दोस्रोपटक टी२० विश्वकपमा आफ्नो स्थान पक्का गर्न सक्छ ।
नेपालले सन् २०१४ को टी२० विश्वकप खेल्दा हङकङ र अफगानिस्तानलाई हराएको थियो । रनरेटमा बङ्गलादेशसँग पछाडि पर्दै नेपाल अघिल्लो चरणमा पुग्न सकेको थिएन । यसपटक नेपालले कथा बदल्न चाहनेछ ।
टी२० विश्वकप छनौटकै संघारमा भारतसँग खेल्ने अवसर पाउनु एउटा ठुलो उपलब्धि हो । यसबाट सिकेका र सुधार गर्नुपर्ने कुराहरुमा सुधार गरी नेपालले निकट भविष्यमा आफूलाई विश्व क्रिकेटमा थप उचाईमा पुर्याउन मद्दत गर्ने छ ।

