एसियाड क्रिकेट: भारतले नेपाललाई २३ रनले हरायो

काठमाडौं, १६ असोज । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गतको क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । मङ्गलबार विहान भएको क्‍वाटरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको हो ।

भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले पूरा २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार छक्कासहित सर्वाधिक ३२ रन बनाए । त्यस्तै कुशल मल्ल र सन्दीप जोराले समान २९ तथा कुशल भुर्तेलले २८ रन बनाए । करण केसी १८ रनमा अविजित रहे ।

भारतका रवि विश्‍नोईले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए भने आवेश खानले ४ ओभरमा ३२ रन दिएर ३ विकेट लिए । अर्शदीप सिंहले २ तथा आर साइ किशोरले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो। भारतका लागि यशश्‍वी जैसवालले ४९ बलमा १०० रनको पारी खेले भने रिंकु सिंह १५ बलमा ३७ रनमा अविजित रहे ।

नेपालका दीपेन्द्र सिंह ऐरीले २ विकेट लिँदा सोमपाल कामी र सन्दीप लामिछानेले १-१ विकेट लिएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय