उपेन्द्रको उत्साह: ‘नगरबासीको सुख-दुःखमा सँगै हुन्छु’
प्रतिक भट्ट
काठमाडौं, ११ असोज । देशभर ७५३ स्थानीय निकाय छन् । केही निकायमा बाहेक सबै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा जनप्रतिनिधिले जनताको काम गरेकै छन् । काम र प्रचारसँगै गर्नेदेखि काम गर्ने प्रचार नगर्ने प्रमुखहरू पनि छन् । केहिले भने काम भन्दा प्रचार बढी गरेका पनि छन् ।
२०६२/०६३ को ऐतिहासिक जनआन्दोलन र त्यसपछि गणतन्त्र स्थापनासँगै बनेको ‘लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान-२०७२’ले दिएको अधिकार अहिले गाउँ गाउँमा पुगेको छ। यसले गाउँ, नगर वा महानगरका जनप्रतिनिधिलाई जनताका सबै काम गर्ने पर्याप्त अवसर र जनतासँगै जोडिएर आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा अगाडी बढ्ने बाटो खुलेको छ।
सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको त्यो अधिकारलाई सिंहदरबारबाट गाउँसम्म पुर्याउने अभियानमा सबैभन्दा बढी खटिने स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि हुन् भन्दा फरक पर्दैन । त्यस्तै जनप्रतिनिधि मध्यका एक हुन कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख(मेयर) उपेन्द्र कार्की ।
नेपाली काङ्ग्रेसको राजनीतिसँगै सामाजिक र धार्मिक क्षेत्रमा समेत सक्रिय रहेका कार्की २०७९ को स्थानीय निर्वाचनमा कागेश्वरी मनोहराको मेयर निर्वाचित भएपछि सबैभन्दा बढी त्यहाँका जनतासँग नजिक छन् । उनी भन्छन्-‘निर्वाचन परिणाम घोषणा भएपछि म पार्टीको मात्रै प्रतिनिधि होइन जनप्रतिनिधि भएको छु। त्यसैले मेरो कर्तव्य र चाहना भनेको नै यहाँका जनतासँग सुखदुःखमा सँगसँगै हुनुपर्छ भन्ने हो।’
त्यसो त नगरप्रमुख भएपछि उपेन्द्रले धेरै काम जनतासँगै जोडिएर गरेका पनि छन् । भौगोलिक हिसाबले शहरदेखी गाउँसम्म फैलिएको नगरपालिका भएको कारण एकैपटक सबै ठाउँमा धेरै रिजल्ट देखिनेगरी काम गर्न नसकिने हुँदा हुँदै पनि उपेन्द्रले बितेको १५ महिनामा थुप्रै जनपक्षीय कामहरू अगाडि बढाएका छन् ।

कागेश्वरी मनोहरालाई खानेपानी,बाटो,ढलसँगै खेलकुदको शहरको रुपमा बिकास गर्ने अवधारणा अनुसार उनले खेल क्षेत्रको विकास र विस्तारका लागि पनि महत्त्वपूर्ण सम्झौता गरेका छन् । यसैगरी नगर भित्रको सार्वजनिक जग्गा संरक्षण र धार्मिक क्षेत्रको विकासमा पनि उनले चासो दिएका छन् । ‘हामीले गर्नुपर्ने धेरै छन् तर कतिपय स्रोत साधनको कमी र कानुनी जटिलताले पनि सोचे अनुरुप काम हुन सकेको छैन’ उनले परेवान्युजसँग भने- ‘जनताले मेरो कार्यकालमा धेरै परिवर्तन पाउनेछन् । म असल जनप्रतिनिधि बनेर जनताको सेवा गर्न आएको हुँ त्यसैले नगरबासीलाई निराश हुन दिन्नँ।’
नगरप्रमुख कार्कीले सुरु गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम एकदम प्रभावकारी र स्वागतयोग्य भएको नगरवासीको भनाइ छ। उनले प्रत्येक महिनाको पहिलो बुधबार बिहान ७:३० बजेदेखि ९ बजे सम्म नगरको उप-प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष तथा शाखा प्रमुखहरुको उपस्थितमा सार्वजनिक सुनवाइ गर्दै आएका छन् ।
नगर प्रमुख कार्कीको यो कार्यमा नगरवासीले प्रत्येक्ष आफ्ना गुनासो राख्न सक्ने र छलफल गर्न सक्ने भएकोले कहाँ के समस्या छ ? त्यसलाई तत्काल वा दीर्घकालीन रुपमा कसरी समाधान गर्न सकिन्छ ? भन्ने कुराको जानकारी कार्यालयलाई हुने र नगरवासीको गुनासो सुनेपछि समाधानमा ध्यान दिन सकिने भएकोले यो कार्यक्रमलाई निरन्तर अगाडी बढाइने पनि कार्कीको भनाइ छ।
त्यस्तै नगरप्रमुख कार्कीले आफ्नो नगरपालिकालाई बालश्रममुक्त नगरपालिका बनाउने प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिसकेका छन् । बालश्रम मुक्त हुँदा बालबालिकाको अधिकार संरक्षणसँगै पढ्न जाने र अभिभावकमा समेत आफ्ना बालबालिकालाई पढाउनुपर्छ भन्ने भावनाको विकास हुने देखिन्छ।
अर्को तर्फ नगरभित्र स्वच्छ पिउने पानीको ब्यबस्था गर्न ठुला आयोजनाको सम्झौता भएका छन भने नगरपालिकको ७ र ९ नम्बर वडाको खानेपानी समस्या तत्काल हल गर्न काडाँघारी खानेपानी आयोजनालाई व्यवस्थित गर्दै वितरण प्रक्रिया सहज बनाइएको छ । यो कार्यले करिब ६ हजार घरधुरीलाई स्वच्छ खानेपानीको राम्रो व्यवस्था भएको छ।
यसैगरी चाबहिल–साँखु सडकखण्डको कामको अवस्था बुझन बेला-बेला नगरप्रमुख कार्की आफैँ फिल्डमा पुग्छन् । केही दिन अगाडी पनि उनले यो सडकको अवस्था अनुगमन गरेका थिए । गत असार मसान्तमै सम्पन्न हुनुपर्ने सडकको काम विभिन्न कारणले पूरा नहुन नसकेपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजना र कागेश्वरी मनोहरा नगरपालिकाको संयुक्त टोलीले सडकको अनुगमन गरेको हो ।
नगर प्रमुख कार्कीले दक्षिणढोका, तिवारी टोलमा भएको कन्भर्ट असान्दर्भिक भएकाले ठूलो बनाउका लागि र सडक खण्डको बाँकी काम तत्काल सम्पन्न गर्न निर्देशन दिइसकेका छन् । नगरभित्रका सडक खण्डको काम दशैँअगाडी सक्न निर्देशन दिँदै कार्कीले निर्माण व्यवसायीको लापरवाही देखिए कारबाही हुने चेतावनी समेत दिएका छन् ।
अर्कोतिर कागेश्वरी मनोहरा नगरपालिका र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच साझेदारीमा उद्यमशिलता कर्जा लगानी गर्ने सम्झौता पनि भएको छ । सम्झौता भएपछि सहकारीमार्फत ४ प्रतिशत ब्याजदरमा २ करोड लगानी हुने र त्यसको ब्याज बापतको ६० प्रतिशत रकम फिर्ता पाइने छ। यसैगरी आर्थिक पारदर्शिता र सुशासन कायम गर्न सहकारी संस्थालाई परामर्श दिने र सचेत गराउने काम पनि नगरप्रमुख कार्कीले शुरु गरेका छन् ।
उता, कागेश्वरी नगरमा सार्वजनिक जग्गामा बनेका घर/टहरा भत्काउन पनि सुरु गरिएको छ। अन्यत्र नगर तथा महानगरमा डोजर चलेको कुरा सार्वजनिक भइरहँदा कागेश्वरी मनोहराको खहरेबाट डोजर चल्न सुरु भएको हो । सार्वजनिक सम्पत्ति मिचेर बनाइएको संरचना तथा घर टहरा सबै भत्काइने नगरपालिकाले जानकारी दिइसकेको छ।
यसरी हेर्दा नगरप्रमुख कार्कीले नगरलाई हरेक क्षेत्रबाट व्यवस्थित बनाउने मात्रै होइन नगरवासीको चाहना पूरा गर्ने गरि चुनावी प्रतिबद्धता अनुरुप काम अगाडी बढाइरहेको र नगरवासीको सुखदुःखमा साथमा रहेको पुष्टि गरेका छन् ।

