
मङ्गोलियामाथि नेपालको कीर्तिमानी जीत, केके रेकर्ड बने ?
प्रतिक भट्ट
काठमाडौं, १० असोज । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले विश्व कीर्तिमानसहित विशाल जित हात पारेको छ । नेपालले मङ्गोलियालाई २७३ रनको भीमकाय अन्तरले हराएको हो ।
नेपालले दिएको ३१४ रनको महाविशाल लक्ष्य पछ्याएको मङ्गोलिया १३.१ ओभरमा ४१ रनमै समेटियो । मङ्गोलियाका दवासुरन जयमन्सुरनले सर्वाधिक १० रन बनाए । नेपालका करण केसी, सन्दीप लामिछाने र अविनाश बोहराले २-२ विकेट लिँदा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १-१ विकेट लिए ।


त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले छक्का र चौकाको वर्षा गर्दै कीर्तिमानी योगफल तयार पारेको थियो । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको थियो । टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो सबैभन्दा सर्वाधिक स्कोर हो । यसअघि अफगानिस्तानले आयरल्यान्डविरुद्ध २७८ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे भने दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा कप्तान रोहित पौडेलले पनि अर्धशतक प्रहार गरे ।
कुशल मल्लले ३४ बलमा शतक प्रहार गर्दै कीर्तिमान कायम गरे । उनी ५० बलमा १३७ रनमा अविजित रहे । यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेभिड मिलर र चेकरिपब्लिकका सुदेश विक्रमशेखरले ३५ बलमा शतक प्रहार गरेका थिए ।
दीपेन्द्रसिंह ऐरिले ९ बलमै ५० रन प्रहार गरेर अर्को रेकर्ड तोडे । उनले युवराज सिंहले ११ बलमा प्रहार गरेको अर्धशतकको रेकर्ड तोडेका हुन् । कप्तान रोहित पौडेल ६१ रनमा आउट भए । नेपाली ब्याटरले कुल २६ वटा छक्का प्रहार गरेका थिए ।
विश्व क्रिकेटमा पहिलो खेल खेलेको मङ्गोलियाले सुरुवाती समयमै नेपालका दुई ओपनरलाई आउट गरेको भएपनि त्यसपछि कुशल र रोहित मिलेर तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरेका थिए ।
केके बने रेकर्ड ?
१. नेपालले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च योगफल बनाएर कीर्तिमान कायम गर्यो । यसअघि अफगानिस्तानले आयरल्यान्ड विरुद्ध बनाएको २७८ रन कीर्तिमान थियो भने नेपालले आज ३१४ रन बनायो ।
२. टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो विकेटका लागि सर्वाधिक रनको साझेदारी बनाएर पनि नेपालले कीर्तिमान कायम गरेको छ । तेस्रो विकेटका लागि रोहित पौडेल र कुशल मल्लले १९३ रनको साझेदारी गरेका थिए ।
३. टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान कुशल मल्लले कायम गरे । उनले ३४ बलमै शतक हानेका थिए । यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेभिड मिलर र चेकरिपब्लिकका सुदेश विक्रमशेखरले ३५ बलमा शतक प्रहार गरेका थिए ।
४. टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान दीपेन्द्रसिंह ऐरीले कायम गरे । ८ छक्का प्रहार गरेका उनले ९ बलमै ५० रन हिर्काएका थिए । यसअघि भारतका युवराज सिंहले ११ बलमा अर्धशतक प्रहार गरेका थिए ।
५. टी२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड पनि नेपालकै नाममा रह्यो । नेपालले कुल २६ छक्का प्रहार गरेको थियो । यसअघि अफगानिस्तानले आयरल्यान्ड विरुद्ध २२ छक्का प्रहार गरेको थियो ।
६. त्यस्तै टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जीत पनि नेपालकै नाममा रह्यो । नेपाल २७३ रनले विजयी भएको थियो । यसअघि टर्की विरुद्ध चेक रिपब्लिक २५७ रनले विजयी भएको कीर्तिमान थियो ।
Comments

