आफ्नै पार्टी सत्तामा हुँदा पनि डाक्टर कुटिएको भन्दै माओवादी सम्बद्ध डाक्टरको राजीनामा !

काठमाडौं, १० असोज । डाक्टर कुटपिटको विषयमा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका केन्द्रीय स्वास्थ्य विभाग सदस्य रहेका डा.दीपक कोइरालाले राजीनामा दिएका छन् ।

उनले आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदा पनि पिटाइ खानुपरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने र कुनैपनी जिम्मेवार नलिने भन्दै यस्तो घोषणा गरेका छन् ।

डा.कोइरालाले एक विज्ञप्ति जारी गर्दै जबसम्म कडा कानुन बन्दैन तबसम्म पार्टीको काममा नफर्किने घोषणा समेत गरेका छन् । डा.कोइरालाले भनेका छन्-‘आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदासमेत चिकित्सकले पिटाइ खानुपरेको, प्रहरी प्रशासनले उल्टै गुण्डागर्दीमा उत्रिएकालाई जोगाउन खोजेको’ देखियो।

बिना आरोप नेपाल प्रगतिशील चिकित्सक सङ्घ गण्डकीका अध्यक्षलाई एक दिन हिरासतमा राख्नु लज्जास्पद भएको समेत उनको भनाइ छ । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत बिरामीको मृत्यु भएपछि देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।

उता मणिपाल अस्पतालमा सोमबार घटेको घटना र प्रहरी कारबाहीबारे कास्की प्रहरीले छुट्टै बिज्ञप्ति जारी गरेको छ। प्रहरीको बिज्ञप्तिमा भनिएको छ,-‘लमजुङ सुन्दरबजार नगरपालिका-६ घर भएकी ५७ वर्षीया सुकमाया दुरालाई स्वासप्रस्वास तथा ढाड दुख्ने समस्यासम्बन्धी बिरामी भइ उपचारको लागि मणिपाल शिक्षण अस्पताल ल्याइएकोमा उपचारको क्रममा असोज ८ गते दिउसो १ बजे उनको निधन भएको।
डाक्टरले मृत घोषणा गरेपछि मृतकका आफन्तहरुले मृत्युको कारण खुलाउने मागसहित होहल्ला र आन्दोलित हुँदा मृतकप क्ष र चिकित्सकबीच विवाद सिर्जना भइ राति ९ बजेतिर दुवैतर्फबाट सिसाहरु तोडफोड भएको। स्थिति नियन्त्रणमा लिन र अस्पतालमा थप क्षति नहोस् भन्नका लागि चिकित्सक कुटपीटमा संलग्न हुने मृतक पक्षका पोखरा ५ मालेपाटन बस्ने ३४ वर्षीय विनय गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत नियन्त्रणमा लिइएको र अनुसन्धान भइरहेको। चिकित्सक तर्फबाट होहल्ला र नाराबाजीमा संलग्न हुने फिस्टेल अस्पतालमा कार्यरत डा. दीनेशकुमार बिकलाई समेत नियन्त्रणमा लिइ यस कार्यालय ( जिल्ला प्रहरी कार्यालयमा) राखिएकोमा मंगलबार बिहान ९ः३० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा.मिनबहादुर गुरुङको रोहबरमा डा. गिरिधारी शर्मालाई जिम्मा लगाइ छाडिएको।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय