
नेपालद्वारा कीर्तिमानी योगफल, कुशल र दीपेन्द्रले तोडे रेकर्ड
काठमाडौं, १० असोज । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले मङ्गोलियासँग खेलिरहेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले छक्का र चौकाको वर्षा गर्दै कीर्तिमानी योगफल तयार गरेको छ ।


नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको हो । टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो सबैभन्दा सर्वाधिक स्कोर हो । यसअघि अफगानिस्तानले आयरल्यान्डविरुद्ध २७८ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे भने दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा कप्तान रोहित पौडेलले पनि अर्धशतक प्रहार गरे ।
कुशल मल्लले ३४ बलमा शतक प्रहार गर्दै कीर्तिमान कायम गरे । उनी १३७ रनमा अविजित रहे । यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेभिड मिलर र चेकरिपब्लिकका सुदेश विक्रमशेखरले ३५ बलमा शतक प्रहार गरेका थिए ।
दीपेन्द्रसिंह ऐरिले ९ बलमै ५० रन प्रहार गरेर अर्को रेकर्ड तोडे । उनले युवराज सिंहले ११ बलमा प्रहार गरेको अर्धशतकको रेकर्ड तोडेका हुन् । कप्तान रोहित पौडेल ६० रनमा आउट भए ।
नेपाली ब्याटरले २६ वटा छक्का प्रहार गरेका थिए ।
Comments

