पोखरा आसपास ३८७ गिद्द भेटिए
पोखरा, १० असोज । लोपोन्मुख अवस्थामा पुगेको गिद्द पोखरा र आसपासका क्षेत्रमा भेटिन थालेका छन् । पछिल्लो तथ्यांक अनुसार पोखरा आसपास करिब तीन सय ८७ गिद्ध भेटिएका छन् ।
हरेक बर्ष जस्तै यस वर्षपनि गिद्दको गणना सम्पन्न भएको छ। गणनामा तीन सय ८७ गिद्ध भेटिएको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए।
समाजले १० वर्षदेखि प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने गिद्दको गणना गर्दै आएको छ । समाजले यस वर्ष पोखरा आसपासका घाचोक, पुम्दीभुम्दी, पुरानो एवं नयाँ ल्यान्डफिलसाइट र दोभिल्लाका साथै तनहुँका व्यास नगरपालिका–१० स्थित शिशुवाभतेरी, शुक्लागण्डकी नगरपालिकास्थित गौ संरक्षण केन्द्र र दमौलीस्थित ल्याण्डफिल साइडमा गिद्धको गणना गरेको थियो ।
पछिल्ला समयमा बासस्थानका कारण बर्सेनि गिद्धहरू संकटमा पर्दै गएको घिमिरेले बताए । घिमिरेका अनुसार विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एशियामा नौ प्रजातिका गिद्ध पाइन्छन् ।
दक्षिण एशियामा पाइने नौ प्रजाति नेपालमा पनि पाइने र ती सबै प्रजाति पोखरामा पाइने उनले बताए।