गृहमन्त्रीको प्रतिबद्धता: डाक्टरमाथि आक्रमण गर्नेलाई कारवाही हुन्छ

काठमाडौं, ९ असोज । सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

मङ्गलबार गृह मन्त्रालयमा भएको वार्तामा पछिल्लो समयमा विभिन्‍न स्थानमा भइरहेका चिकित्सकमाथिको आक्रमणमा संलग्न हुनेहरुलाई ऐन अनुसार कारवाही गर्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिबद्धता जनाएको वार्तामा सहभागी चिकित्सक संघका प्रतिनिधिले जनाएका छन् ।

सोमबार पोखराको मणिपाल शिक्षण अस्पताल तथा त्यसपछि देशका अन्य केही ठाउँमा पनि श्रृंखलाबद्ध रुपमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटना बाहिर आउन थालेपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए ।

मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, चिकित्सक संघ, नर्सिङ संघ लगायतका प्रतिनिधिको उपस्थिति थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय