
सेभेन ए साइड फुटबलको उपाधी अजिमाले जित्यो
काठमाडौं,९असोज। गोकर्णेश्वर नगरपालिका-८ स्थित युवा उत्सव समितिको आयोजनामा आईतबारदेखि शुरु भएको प्रथम दशैं खसी कप २०८० खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी अजिमा कन्स्ट्रक्सनको टिमले जितेको छ।


मंगलबार भएको खेलमा अजिमा टिमले ताहाचल टिमलाई पेनाल्टी सुटआउटबाट ४-३ ले पराजित गरि उपाधी जितेको हो। खेल खसी उपहार भनिए पनि बौद्ध क्षेत्रमा खसी उपहार दिन नमिल्ने भन्दै सो बराबरको २० हजार नगद थप गरि उपाधी बिजेतालाई ७० हजार प्रदान गरियो।
आजै भएको सेमिफाइनलमा ताहाचलले बौद्धलाई १-० ले पराजित गरेर फाइनल पुगेको हो भने अजिमा कन्स्ट्रक्सनले कुदान एकेडेमी नैकापलाई १-० ले पराजित गरेर फाइनल पुगेको हो।

प्रतियोगिता अन्तर्गत मंगलबार नै क्वाटर फाइनल, सेमि फाइनल र फाइनल खेल सम्पन्न भएका थिए। काठमाडौं महानगरपालिका वडा नं. ६ को बौद्ध फुटबल मैदानमा प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार र द्वितीय हुने टिमले२५ हजार नगद पुरस्कार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरे।प्रतियोगितामा ३२ टिमले भाग लिएका थिए।
सोनम शेर्पा म्यान अफ दि म्याच भए । उनलाई गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामाले ट्रफी दिइन् ।
मुस्कान खातीको सभापतित्व र राजेश दाहालले संचालन गरेको कार्यक्रममा संघीय सांसदहरु सन्तोष चालिसे,अशोक चौधरी,निशा डागी, बागमती प्रदेश सांसद छिरिङ दोर्जे लामा लगायतलाई आयोजकले मायाको चिनो प्रदान गरेका थिए।
Comments

