
सर्वोच्चको प्रश्न: ललिता निवास प्रकरणमा डा.भट्टराई र नेपाललाई किन मुद्दा चलाइएन ?
काठमाडौं, ९ असोज । सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल तथा पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ ।


मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको ठगी प्रकरणमा मुद्दा नचलाउनुको कारण माग गरेको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले उनीहरुविरुद्ध दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, महान्यायाधिवक्ता कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई लगायतसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको हो ।
शक्ति र पहुँचमा भएकै कारण उनीहरुलाई उन्मुक्ति दिइएको भन्दै न्यौपानेले रिट दायर गरेका हुन् । उनैले चार वर्षअघि पनि भट्टराई र नेपाललाई पनि भ्रष्टाचारको मुद्दा चलाउनुपर्ने भनी सर्वोच्च अदालतमा दिएको रिट अझै विचाराधीन अवस्थामै छ ।
यस प्रकरणमा दुवैजनाले सीआइबीलाई बयान भने दिइसकेका छन् ।
Comments

