चन्द र पारसलाई भेटेपछि सन्दीप चीन जान तयार

काठमाडौं, ९ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने एसियाड अन्तर्गत पुरुष क्रिकेटमा सहभागी हुन आज चीन जाने भएका छन् ।

पटकपटकको अदालती झन्झटबाट खेल्न नसक्‍ने स्थितिमा पुगेको बताएका उनी आइतबार टोलीसँग चीन गएका थिएनन् भने क्यानलाई पनि आफू खेल्न सक्‍ने स्थितिमा नभएको बताएका थिए ।

तर सोमबार राति क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव एवम् पूर्वखेलाडी पारस खड्कासँग भेटेपछि उनले चीन जाने मुड बनाएका हुन् । सन्दीप आज दिउँसो चीनका लागि प्रस्थान गर्ने छन् ।

सन्दीपसँगै अर्का स्पिनर सागर ढकाल पनि चीन जाने छन् । सागर ललित राजवंशीको स्थानमा टोलीमा समावेश भएका थिए र भिसा नआएकाले आइतबार गएका थिएनन् ।

नेपालले बुधबार मङ्गोलियासँग खेल्ने छ भने आउने आइतबार माल्दिभ्ससँग खेल्ने छ । नेपाल क्‍वाटरफाइनलमा पुग्‍ने लगभग निश्‍चित छ र क्‍वाटरफाइनलमा भारत पाकिस्तान बङ्गलादेश वा श्रीलंकामध्ये एकसँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय