
कागेश्वरी मेला सम्पन्न
काठमाडौ,७असोज। काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका-१ स्थित कागेश्वरी मन्दीरमा दुई दिने धार्मिक एवं पर्यटकीय मेला सम्पन्न भएको छ।


शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको यो ठाउँ ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ। कागे अष्टमी अर्थात भाद्र शुक्ल अष्टमीलाइ लक्षीत गरि मेला आयोजना भएको हो। मेलामा काठमाडौ र आसपासबाट आएका भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका थिए ।

कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन यसरी नै लाग्ने गर्दछ।भाद्र शुक्ल अष्टमीका दिन कागेश्वरी पुगेर पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका मानिसले कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता पनि रहेको छ।
त्यसैगरी कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास पनि रहेको छ । श्रावण शुक्ल पूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल कागे अष्टमीमा कागेश्वरीमा चढाउनुपर्छ भन्ने मान्यता समेत छ।त्यसैले गोसाइँकुण्ड पुगेर फर्केका भक्तजनले कागेश्वरीमा जल नचढाए धार्मिक यात्रा पूरा नहुने भन्दै जल चढाउन आइपुग्छन।
मन्दिर परिसरमा हाल दुई सय २७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो। पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकामा सार्वजनिक बिदा दिँदै आएको पनि छ।
कागेश्वरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले कागेश्वरी मन्दिर सहित यस क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा बिकास गर्न आफू प्रतिबद्ध रहेको बताए।’यो हाम्रो लागि खुशीको कुरा हो कि हामी हरेक हिसाबले यस क्षेत्रलाई प्रमुख गन्तव्य बनाउन लागिरहेका छौं’-नगर प्रमुख कार्कीले भने ।
Comments

