देउता चढेको भन्दै अन्धाधुन्ध खुकुरी प्रहार, एकजनाको मृत्यु

दाङ, ७ असोज । दाङको तुलसीपुरमा शनिबार दिउँसो खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराका ४२ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गर्दा ४३ वर्षीया रीता लामिछानेको ज्यान गएको हो । गम्भीर घाइते हुनेमा स्थानीय अन्दाजी ६५ वर्षीया कमलाकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल रहेका छन् ।

स्थानीयवासीका अनुसार घरबाटै खुकुरी बोकेर निस्किएका टेकबहादुरले बाटोमा जो भेट्यो उसैमाथि आक्रमण गर्दै हिँडेका थिए । प्रहरीले उनलाई पक्राउ पनि गरिसकेको छ तर घटनामा कुनै रिसिबी नभई अनौठो कारण बाहिर आएको छ ।

प्रहरीका अनुसार टेकबहादुरले आफूलाई देउता चढेको भन्दै स्थानीय माथि खुकुरी प्रहार गरेको बताएका थिए । यद्यपि यसबारेमा थप अनुसन्धान भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय