पोखरामा यति एयरलाइन्स दुर्घटना मानवीय त्रुटी भएको निश्कर्ष

फाइल तस्वीर

काठमाडौं। यती एयरलाइन्सको जहाज पोखरामा ८ महिना अघि भएको दुर्घटना मानविय त्रुटिको कारण भएको निष्कर्ष जाँचबुझ आयोगले निकालेको छ।

२०७९ माघ १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको यती एयरलाइन्सको जहाज दुर्घटना छानबिन आयोगले संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बुझाएको प्रतिवेदनमा मानविय कारण भएको उल्लेख गरेका हुन्।

जाँचबुझ आयोगका एक सदस्यले क्यापिटल नेपाललाई दिएको जानकारी अनुसार दुर्घटनामा चालकदलको लापरबाही रहेको पाइएको छ। आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले काठमाडौंबाट पोखराका लागि उडेको एटीआर विमान दुर्घटनाबारे विस्तृत जाँचबुझ गरी बनाइएको अन्तिम प्रतिवेदनको मस्यौदा मन्त्री किरातीलाई बुझाइएको जानकारी दिए।

अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ)को प्रावधानअनुसार यस घटनासँग सरोकार राख्ने विभिन्न मुलुकको अन्तिम सुझाव प्राप्त भएको ६० दिनपछि प्रतिवेदन सार्वजनिक हुने उनले बताए।

जहाज दुर्घटनाको छानविनका लागि सरकारले पूर्वसचिव नगेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको थियो। घटनामा चालकदलका ४ सदस्य र ६८ यात्रुसहित जहाजमा सवार सबै ७२ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय