माओवादी पुर्व कमान्डरको सेनामा पदावधि थपिएको विषय विवादमा

काठमाडौं, ६असोज । नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारी ‘प्रतीक्षा’ को पदावधि थपिएको विषयले चर्चा पाएको छ । माओवादी जनयुद्धका डिभिजन कमान्डर रहेका अधिकारीको असोज १ पछि अवकाश हुनुपर्नेमा सरकारले अझै तीन वर्ष अवधि थपिदिएपछि यो विषय बाहिर आएको हो ।

अधिकारीको यसअघि केपी ओली प्रधानमन्त्री हुँदा अन्तिम पटक अवधि थपिएको थियो। तर,असोज १ गतेदेखि अवकाशमा जान लागेका अधिकारीको पदावधि थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेर रक्षामन्त्री पुर्णबहादुर खड्काले नै चासो राखेको भन्दै कांग्रेस केन्द्रिय समितिको बैठकमा समेत यो विषयले प्रवेश पाएको छ।

पार्टी केन्द्रिय सदस्य जितजङ्ग बस्नेतले यमबहादुर अधिकारीको पदावधि थपेर प्रचण्ड नेतृत्वको सरकारले सेनामा रुक्मांगद कट्वाल र कुलबहादुर खड्का काण्ड दोहोर्‍याउन खोजेको आरोप लगाए । माओवादी लडाकुबाट सेनामा समायोजन भएका कसैको पनि अवधि थप्‍ने प्रावधान नै थिएन । तर, अधिकारीको भने एक तह बढुवा र दुइपटक पदावधि थपिएको छ।

धादिङ घर भएका सहायक रथी अधिकारी हाल वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक पदमा कार्यरत छन् । उनी माओवादी जनयुद्धमा चौथो डिभिजन कमान्डर थिए। धादिङको कृष्णभीरमा भएको तत्कालीन शाही नेपाली सेना माथीको आक्रमणमा माओवादी सेनाको नेतृत्व उनैले गरेका थिए।

यो बिषयमा नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले रक्षा मन्त्रालयबाट अधिकारीको पदावधि मन्त्रिपरिषद् बैठकबाट थपिएको जानकारीसहितको पत्र नेपाली सेनालाई प्राप्त भएको जानकारी दिएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय