बाबुराम नेतृत्वको नेसपा फुटाउन प्रचण्डको ‘हमला’ पत्र

काठमाडौ,३असोज। पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई फुटाएर एउटा समुहलाई माओवादीसंग एकता गराउने प्रयास थालिएको छ।
पार्टी अध्यक्ष डा.भट्टराई भारतमा आयोजित पार्टीको काममा रहेका बेला अर्का अध्यक्ष एवं हाल सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादवलाई एकता बारेको पत्र पठाउदै माओवादी केन्द्रले यो रणनीति लिएको देखिन्छ। यसमा बाबुराम निकट र महेन्द्र यादव पक्षीय केही नेता समेत माओवादी योजनामा सामेल भएको बुझिन्छ। यद्यपि यसलाई बाबुरामले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले बाबुराम नभएको मौकामा अर्का अध्यक्ष यादवको नाममा ‘एकता बारे’ भन्दै पत्राचार समेत गरेको छ। जसलाई बाबुराम पक्षीय केही नेताकार्यकर्ताले ‘प्रचण्डको षड्यन्त्र’ समेत भनेका छन् ।
माओवादी भित्र भट्टराईलाई पुनः माओवादी पार्टीमा ल्याउन नहुने केही ब्यक्ति सक्रिय छन् भने नेसपा भित्र पनि भट्टराई बाहेक माओवादीमा जाने तयारीमा केही नेता देखिन्छन् । पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डसंग खासै सम्पर्कमा नभएका भट्टराईले देशब्यापी पार्टी निर्माण अभियान चलाइरहेका छन् । तर,यो अभियानमा अर्का अध्यक्ष यादव कतै देखिएका छैनन् ।
गत मंसिर ४ को निर्वाचनमा चितवनमा प्रचण्डले चुनाव जित्ने अवस्था नभएको र अन्य क्षेत्रमा समेत सुरक्षीत नदेखेपछी बाबुराम भट्टराईले नै आफ्नो निर्वाचन क्षेत्र खाली गरेर प्रचण्डलाई गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित गराउन मुख्य भुमिका खेलेका थिए।


