देउवा निवास पुगेर डा.शेखरले भने- ‘तपाईं नसच्चिने भए अलग-अलग हिंडौ’

काठमाडौ,३असोज।नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई घरमै पुगेर ‘तपाईं सच्चिने कि, म केही सोचौं ?’ भन्दै धम्क्याएका छन् ।
बुधबार बिहान पार्टी उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई लिएर देउवा निवास धुम्बाराही पुगेका कोइरालाले ‘सबै बिग्रेकाले अब टुलुटुलु हेरेर नबस्ने’ भन्दै आक्रोश देखाएको स्रोतले बतायो।
सभापति देउवा भेट्नु अगाडी डा.शेखरले छुट्टै बैठक समेत राखेका थिए। पार्टी महामन्त्री बिश्वप्रकाश शर्मा र नेता प्रदिप पौडेल समेतलाई बोलाएर गरिएको बैठकमा शर्मा र पौडेल भने अनुपस्थित थिए।
देउवासंगको भेटमा कोइरालाले अब अलग अलग बाटो हिड्नु परेपनी आफू तयार रहेको बताएको उनी निकट स्रोतले परेवान्युजलाई बतायो।’तपाइँ अब पनि सच्चिएर नजाने हो भने अलग-अलग बाटोमा अघि बढ्नु उचित होला’-कोइरालाले भनेको कुरा यस्तो थियो भन्दै उनि निकट स्रोतले भन्यो-‘चौधौँ महाधिवेशनपछि पनि तपाईं (सभापति देउवा)को कार्यशैलीमा कुनै परिवर्तन देखिएन अब पार्टी नै ध्वस्त हुने अवस्था आयो।’
सो भेटमा कोइरालाले देशको अवस्था दिनदिनै जर्जर बनिरहँदा पनि कांग्रेस रमिते बनेर बस्ने भन्दै सभापतिसंग आक्रोश पोखेका थिए। उनले सरकारमा पनि लथालिङ्ग, देश पनि भताभुङ्ग हुँदा पार्टी भित्रको भ्रातृसंगठनमा पनि गाईजात्रे तरिकाले मनोनयन गरिएको समेत भन्न भ्याए।
तर,सभापति देउवाले सबै कुरा सुनेपछि आफू पार्टी मिलाएरै अघि बढ्ने सोचमा रहेको मात्रै जवाफ दिएको स्रोतको भनाइ छ।‘म मिलाउछु तपाईं चिन्ता नलिनुस। केही मिलाउने कुरा भए बसेर मिलाउला’-देउवाको भनाइ थियो।

