हेटौंडा अस्पतालका चिकित्सकद्वारा सामुहिक राजीनामा

मकवानपुर, २९ भदौ । मकवानपुरको हेटौंडामा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सकसहित स्वास्थकर्मीले सामूहिक राजीनामा दिएका छ्न् ।

उनीहरूले इमरजेन्सीबाहेकका सबै सेवा ठप्प पार्दै आन्दोलनसमेत थालेका छन् । घटनाको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै आकस्मिक बाहेकको सबै सेवा बन्द गरी आन्दोलनमा उत्रिएका हुन् ।

डेंगु संक्रमणको कारण एक महिनाअघि मृत्यु भएका हेटौंडा-१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहित केही युवाले बुधबार दुईजना डाक्टरमाथि अस्पतालभित्रै छिरेर कुटपिट गरेका थिए । कुटपिटको द‍ृश्य सिसिटिभीमा पनि कैद भएको छ ।

आफूहरूमाथि असुरक्षा बढेको भन्दै आन्दोलनमा उत्रेका चिकित्सक तथा स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएको जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय