नेम्वाङलाई क-कसले दिए श्रद्धाञ्जली ?

काठमाडौ,२६ भदौ। नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व सभामुख सुवास नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन पुर्व रास्ट्रपति विद्यादेवी भण्डारी सहित सबैजसो दलका नेता एमाले मुख्यालय च्यासल पुगे।
सोमबार राती निधन भएका नेम्वाङको शव आज र भोलि एमाले मुख्यालयमै रहनेछ। उनको निधन लगत्तै हस्पिटल पुगेका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि च्यासल पुगेर श्रद्धाञ्जली दिए।
एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायत सबैजसो नेता हस्पिटलदेखि च्यासल सम्मै पुगे भने पुर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, डा.बाबुराम भट्टराई, माधवकुमार नेपाल र झलनाथ खनाल पनि च्यासल पुगेर श्रद्धाञ्जली दिए।
एमाले र नेकपा समाजवादीका प्रायः सबै नेता च्यासलमा देखिए भने सभामुख देवराज घिमिरे,राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना,उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित दलका नेताहरूले पनि श्रद्धाञ्जली दिएर फर्केका छन् ।
नेम्वाङलाई बालुवाटार स्थित घरमै सोमबार राति हृदयघात भएको र महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पताल लैजानेक्रममा बाटोमै निधन भएको थियो। नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
२००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा जन्मेका नेम्वाङ २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य भएका थिए । त्यसपछि नेम्वाङले इलामबाट २०५६ सालदेखि निरन्तर संसदीय चुनाव जित्दै आएका थिए।

