सुवास नेम्वाङको निधनमा राष्ट्रपति र प्रधानमन्त्री स्तब्ध

काठमाडौं, २६ भदौ। नेकपा एमाले उपाध्यक्ष एवं पुर्व सभामुख सुवास नेम्वाङको आकस्मिक निधनमा राष्ट्रपति, प्रधानमन्त्री, पुर्व प्रधानमन्त्री लगायत नेताहरूले दु:ख व्यक्त गरेका छन् ।
नेम्वाङको सोमबार राति हृदयघातबाट निधन भएको हो । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । हृदयघातपछि अस्पताल पुर्याइएका नेम्वाङको १:३० बजे अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले जनाएका छन् ।
उनको निधनपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली सहित पुर्व प्रधानमन्त्री र दलका नेताहरूले सामाजिक सञ्जाल मार्फत नेम्वाङको निधनले मर्माहत भएको जनाएका छन् । प्रधानमन्त्री प्रचण्ड सहित एमाले अध्यक्ष ओली र अन्य नेताहरू अहिले शिक्षण अस्पताल पुगेका छन् ।
२००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा जन्मेका नेम्वाङ २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य भएका थिए । त्यसपछि नेम्वाङले इलामबाट २०५६ सालदेखि निरन्तर संसदीय चुनाव जितिरहे । उनी २०६४ सालको संविधानसभा निर्वाचन र ७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम-२ विजयी बनेर संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहे ।
कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्यप्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भएका नेम्वाङ गत फागुन २५ मा राष्ट्रपतिमा उम्मेदवारी दिएका थिए। तर,नेेम्वाङलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पराजित गरे।
२०५४ को छैटौं महाधिवेशनदेखि उनी निरन्तर एमाले केन्द्रीय कमिटीमा छन् । २०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनमा नेम्वाङ उपाध्यक्ष थिए ।
नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

