चलचित्र ‘एक भगवत् गीता’ को प्रदर्शन अन्यौलमा
निर्देशक झरना भन्छिन्-'मर्नु न बाँच्नुको पीडा भइरहेको छ’
काठमाडौ,२४ भदौ।अभिनेत्री,निर्माताहुँदै निर्देशक बनेकी नायीका झरना थापाको परिवारले निर्माण गरेको ‘एक भगवत् गीता’लाई सेन्सर अनुमति नदिइएपछि निर्देशक थापा ठूलो तनावमा परेकी छन्।
तनावकै कारण निदाउन नसकेको र मर्नु न बाच्नुको अवस्थामा पुगेको भन्दै चिन्ताले गएराति निदाउन नसकेको समेत उनले उल्लेख गरेकी छन्। ‘मान्छेलाई अत्यन्तै पीडाबोध र निराशा भयो भने निद्रा नलाग्दो रहेछ, जुन आज म महसुस गरिरहेको छु’, मध्यरातमा फेसबुकमा उनले लेखेकी छन्, ‘आफ्ना सारा स्रोत सम्पत्ति, सपना र अहिलेसम्मको चलचित्र कर्मको लगानी गरेर बनाइएको चलचित्र यसरी चल्नै नदिने अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भइरहेको छ।’
चलचित्र विकास बोर्डले सेन्सरका लागि सिफारिस दिन अस्वीकार गरेपछि यही भदौ २९ गतेदेखि गरिने भनिएको नेपाली चलचित्र ‘एक भगवत् गीता’को प्रदर्शन अन्योलमा परेको छ।
हिन्दु जागरण नेपाल, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिलगायत १३ वटा धार्मिक संस्थाले चलचित्रको नामअनुसार कथाको कुनै सम्बन्ध नभएको, केवल व्यापारका लागि श्रीमद् भगवद् गीताको दुरुपयोग गर्न खोजिएको भन्दै चलचित्र विकास बोर्डमा निवेदन दिएपछि ‘एक भगवत् गीता’ले सेन्सरका लागि सिफारिस नपाएको हो।


