बीपी साहित्य महोत्सव आजदेखी शुरु

काठमाडौ,२४ भदौ।नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपामा आजदेखि तीनदिने ‘बीपी साहित्य महोत्सव’ शुरु हुँदै छ ।
कांग्रेसले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा महोत्सव गर्न लागेको हो। महोत्सव सम्पन्न गर्न सहमहामन्त्री बद्री पाण्डे संयोजक रहेको मुल समिति बनाएको छ।
कार्यक्रम अनुसार पहिलो दिन उद्घाटनसहित बीपीको साहित्य, सिर्जना र जीवन दर्शन, बीपीका दृष्टीमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य र कविता साँझ हुनेछ ।
यसैगरी दोस्रो दिन मार्क्स, गान्धी र बीपीबारे सम्भाषण, बीपीले नपाएको १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बीपी, युवा श्रष्ठामा बीपी पठन र गजल साँझ हुनेछ ।
यस्तै अन्तिम दिन तीन घुम्ती, बीपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्टर्न, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपीका साथै धन्यवाद ज्ञापन र सांङ्गीतिक साँझ सेसन रहेको आयोजनकले जनाएको छ।
कार्यक्रम तयारी समितिका संयोजकसमेत रहेका सहमहामन्त्री पाण्डेले राजनीतिक दलभित्र मर्दै गएको वैचारिक शून्यतालाई जगाउन महोत्सवले टेवा पुर्याउने बताए ।
महोत्सवमा कांग्रेसजन मात्रै नभएर फरक राजनीतिक दल र विचार भएका प्रबुद्ध वर्गको समेत उपस्थिति हुने हुँदा समग्र राजनीतिक दलको वैचारिक दृष्टिकोणमाथि नै बहस हुने पाण्डेको भनाइ छ ।

