थाइल्यान्डसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरै

काठमाडौं, २२ भदौ । आइसिसी महिला टी-२० विश्वकप एसिया छनौटको सेमिफाइनलमा नेपाली महिला क्रिकेट टोली पराजित भएको छ । नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको हो ।
थाइल्यान्डसँग पराजित भएसँगै नेपाल ग्लोबल छनौटमा पुग्नबाट वञ्चित भएको छ भने विश्वकप खेल्ने सपना पनि अधरै रह्यो । थाइल्यान्डले दिएको १०६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अलआउट भयो ।
नेपालका लागि कविता कुँवरले सर्वाधिक १७ रन जोड्दा कविता जोशी र अप्सरी बेगमले १०-१० रन बनाए। नेपालका अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङमा थाइल्यान्डकी ओनिचा र थिपच्चाले ३-३ विकेट लिए।
त्यसअघि टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा २ विकेटको क्षतिमा १०५ रन जोडेको थियो।
उसका लागि नन्नापतले नटआउट ५९ रन जोडिन्। बलिङमा नेपालकी कविता कुँवर र पूजा महतोले एक-एक विकेट लिए।

